दसैंमा स्टाइलिस र आकर्षक देखिन अहिले चलेको पहिरन
Published:
by .विराटनगर । चाडपर्वको समय सुरु भइसकेको छ । हरेकलाई चाडपर्वको अवसरमा स्टाइलिस र स्पेशल देखिन मन अवश्य हुन्छ । धेरैले चाडपर्वमा आफन्त तथा मेला घुम्न जानका लागि विभिन्न पहिरनको छनौट गरिसकेका छन् र कोहि अझै गरिरहेका छन् ।
चाडपर्वमा आकर्षक देखिनका लागि पहिरन छान्दा हल्का, सहज, हेर्दा आकर्षक, स्टाइलिस र फेस्टिभ लुक्स दिने खालको छान्नुपर्छ । चाडपर्वमा परम्परागत पहिरनमा विशेष ध्यान दिने गरिन्छ । अहिलेको बजारमा वेस्ट्रन पहिरनलाई भन्दा पनि ट्रेडिसनल पहिरन अत्यधिक चलेको छ । विशेष गरी पुरुषहरु साधारण शर्ट, भेस्ट, पाइन्ट तथा दौरा सुरुवाल, ढाका टोपी लगाउने गर्छन भने महिलाहरुको रोजाई अलि फरक हुने गर्छ । आजकल महिलाहरु वान पिस, गाउन, लेहेंगा, साडी, कुर्ता सुरुवाल जस्ता पहिरन बढी मन पराउन थालेका छन् ।
चाडपर्वको अवसरमा कस्तो पहिरन फेसनमा आएको छ र कस्तो रङ र फेब्रिकको माग बढि छ ? भन्ने बारेमा चर्चा गर्दैछौं । यसको लागि विराटनगरको तीनपैनीस्थित सलमान फेसन बुटिकका डिजाइनर सलमान मंसुरीसँगको कुराकानी यस्तो रहेको छ:
अहिलेको दशैँमा कस्तो खालको पहिरनको माग बढि छ ?
अहिले वान पिस र लेहेंगा अत्यधिक चलेको छ । चाडपर्वको समयमा फर्मल तथा प्यान्ट, टिसर्ट भन्दा पनि कुर्ता सुरवाल, म्याक्सी ड्रेस, लेहेंगा अनि साडीमा एकदम नै चलेको छ ।
बच्चाको लागि कस्तो रंगको पहिरन उपयुक्त हुन्छ ?
बच्चाहरुलाई ब्राइट कलरको पहिरन राम्रो हुन्छ । बच्चाहरुले सेतो रङको पहिरन छिट्टै फोहोर गर्ने हुदा साथै टिकाको रङ लाग्ने, दाग लाग्ने भएकोले सेतो रङको साटो अन्य गाढा रंगको प्रयोग गर्दा राम्रो हुन्छ ।
कस्तो खालको फेब्रिक र रङ चलेको छ ?
यसपाली रङमा ब्राइट कलर धेरै चलेको छ । विवाहित तथा अविवाहितहरूले समेत रातो कलरको बढि माग गरेका छन् । फेब्रिकमा भने जर्जेट, सिफन, नेट तथा स्याटिन सिल्क अत्यधिक चलेको छ ।
घरमा काम गर्ने महिलाहरूलाई दसैंको समयमा बढी कामका व्यस्त हुन्छन् । यस्तो अवस्थामा सजिलो र फेसनेवल देखिनको लागि कस्तो खालको पहिरन उपयुक्त होला ?
साधारण सिफन, स्याटिन सिल्क तथा नेटको साडीमा थोरै बोर्डर राखेर हेभी खालको बुट्टा भएको ब्लाउज लगाउँदा राम्रो देखिनुका साथै क्यारी गर्न पनि सजिलो हुदा काम गर्न पनि अफ्ट्यारो हुने गर्दैन ।
ग्राहकहरुले कस्तो डिजाइन भएको लुगा सिलाइ रहेका छन् ?
आजकल इन्टरनेटको जमाना छ, जे देख्यो तेही मनपराउछन् । ग्राहकहरु आफै डिजाइन लिएर आउछन्, त्यही अनुसार उनीहरुको लुगा तयार हुन्छ ।
Comments