गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले एलिशाको डिस्चार्जका लागि रकम संकलन गर्ने
Published:
by .बिर्तामोड । सुत्केरी बेथाले थलिएकी श्रीमतीलाई बि एण्ड सी अस्पतालमा भर्ना गरी पैसाको जोहो गर्न बाहिरिएका श्रीमान् नफर्किएपछि कनकाई नगरपालिका ४ कोटीहोमकी एक महिला १० दिनदेखि अस्पतालमै बस्न बाध्य भएकी छन् ।
तिहारका कारण अन्य अस्पतालहरुमा चिकित्सक नभेटेकाले बिर्तामोडको बि एण्ड सी अस्पतालमा कात्तिक ९ गते भर्ना गरिएकी एलिशा मगरको अपरेशन गरी भोलिपल्टै बच्चा निकालिएको थियो । आफूसँग भएको १४ हजार ५०० रुपैयाँ धरौटी राखेर अस्पताल भर्ना भएपनि थप रकम जुटाउन नसक्दा उनी अहिले अस्पतालमै बन्धकजस्तै बन्नु परेको हो ।
ज्यालादारी काम गरेर परिवार पाल्दै आएका एलिशाका श्रीमान अशोक मगर फूपूबाट रकम लिएर आउँछु भनी निस्किएको सातादिन बितेको छ । तर उनी गैर जिम्मेवार बन्दै परिवार र आफन्तको सम्पर्कमा नरहेको उनकी दिदी सपना मगरले बताइन् ।
नवजात शिशु र सुत्केरी सपनाको उपचारका शिलशिलामा अस्पतालमा एक लाख रुपैयाँ हाराहारी र औषधी पसलमा साढे २२ हजार बाँकी रहेपछि एलिशा अहिले अस्पतालमा बन्धकजस्तै बन्नु परेको सामाजिक अभियन्ता भूपाल बस्नेत बताउँछन् ।
यसैबीच, गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्था बिर्तामोडले एलिशा मगरको उपचारमा लागेको खर्च अस्पताललाई तिरीदिन झापामा आर्थिक सहयोग संकलन गर्ने भएको छ ।
आज सो संस्थाले बिर्तामोडमा पत्रकार सम्मेलन गरी संस्थाको ब्यानरसहित सहर सहरमा टोली गएर एलिशालाई उपचार गर्दा अस्पतालमा लागेको खर्च तिरिदिन भोलिदेखि आर्थिक संकलन अभियान चलाउने भएको हो ।
संस्थाका अध्यक्ष भूपाल बस्नेतले एलिशाको घर भएको क्षेत्र कनकाईको कोटीहोमसहित सुरुङ्गाबजार, दुर्गापुर, चारपाने, बिर्तामोडका ब्यापारी, व्यवसायी, समाजसेवी दाताहरुसँग सहयोगको हात फैलाउने बताएका छन् ।
आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारका सदस्य सपना मगरको भनाई छ ।
Comments