Sajhamanch Archive

उपचुनाव प्रचारप्रसारको आज अन्तिम दिन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् ।

शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।

त्यस्तै धरान उपमहानगरपालिकाको प्रमुख पदको चुनाव पनि चासोका साथ हेरिएको छ । यी सबै स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षवीच यो उपचुनाव प्रतिष्ठाको लडाइँ बनेको छ ।

शनिबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ । त्यस्तै यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिबार निर्वाचन हुँदैछ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।

चार स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये नेकपाले जोगाउनुपर्ने एउटा गाउँपालिका छ भने कांग्रेसले दुईवटा गाउँपाकिला जोगाउनुपर्ने छ । त्यस्तै राजपाले एउटा गाउँपालिकामा आफ्नो सीट जोगाउनुपर्ने चुनौती छ ।

त्यसैगरी शनिबार ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ । तीमध्ये २१ गायँपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् ।

कुल ४२ वडाहरुमध्ये २३ वटा वडामा यसअघि नेकपाले जितेको थियो । अब नेकपाले २३ वटा वडाहरु जोगाउनुपर्ने चुनौती छ । त्यस्तै नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले जितेको प्युठानको एउटा वडा पनि शनिबार दाउमा लाग्दैछ ।

४३ वटा वडाहरुमध्ये नेपाली कांग्रेसले यसअघि जितेका १२ वडाहरु सुरक्षित गर्नुपर्ने छ । त्यस्तै राजपा र समाजवादीले यसअघि जितेका ५ वटा वडाध्यक्ष पद जोगाउनुपर्ने चुनौती छ ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *