Sajhamanch Archive

आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ ।

‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले बतायो, ‘मिडियामा आएका समाचारहरुको कटिङसमेत संकलन भइरहेकाले आचार संहिता उल्लंघनको संख्या अरु बढ्न सक्ने देखिएको छ ।’

आचार संहिता उल्लंघनविरुद्ध परेका उजुरीहरु सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका छन् । बढीजसो सरकारी पक्षले पदीय दुरुपयोग गरेका उजुरी परेका छन् । त्यसैगरी आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको विषयमा पनि उजुरीहरु परेका छन् ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले महोत्तरीको पिपरामा गरेको भाषण र दाङको घोराहीमा मुख्यमन्त्री शंकर पोखरेलले गरेको भाषणलाई पनि आयोगले नोटिसमा लिएको स्रोतले बतायो ।

भोलि शनिबार देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि कास्कीमा उपचुनाव हुँदैछ भने दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिका, मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि चुनाव हुँदैछ ।

देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *