Sajhamanch Archive

श्वेताको पहलमा बनेको सुन्दर बस्तीमा सरे भूकम्प पीडित माझी

Published: in राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर ।

एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ ।

दशैँको फूलपातीको दिन नयाँ घर सरेकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान् ज्ञानबहादुर मंगलबार साँझ खाना पकाउँदै थिए । नयाँ घर पाउँदा उनीहरु खुशी देखिन्थे ।

उनीहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्छिन्, “घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।” अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उनीहरु ढुक्क छन् । सरकारबाट आएको रु तीन लाखमा रु चार लाख ऋण थपेर घर बनाएको उनले बताइन् ।

छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सरेका थिए । छ जनाको परिवार बस्ने उनले भने, “साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ ।” उनले पनि माटोढुङ्गाको त्यो दुईतले घर भने कहिल्यै भुल्न नसक्ने बताए ।

परिवारका सबै सदस्य घर बाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको रु चार लाख ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताए ।

जुना माझी नयाँ घरमै विवाह गरेर भित्रिएकी हुन् । उनले टहरो देख्न पाइनन् । तीन जनाको परिवारलाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन भन्छिन् जुना ।

निर्माण भएको नमूना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन् । यहाँ रहेका ढुङ्गामाटोको दुईतले घर विसं २०७२ को भूकम्पले क्षणभरमै भत्कायो । त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीको अहिले मुहार फेरिएको छ । बस्ती साँच्चै नै मन लोभ्याउने खालको छ ।

दायाँबायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ । सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ ।

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए ।

अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ । ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन् ।

चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन् । अनलाइन खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *