महाबिर माग्छन् ब्याज तिर्ने शर्तमा ऋण, सामाजिक मनहरु जुटाउँछन् सहयोग
Published:
by .झापा । वैज्ञानिक महाविर पुनले दुईवटा परियोजना सञ्चालन गर्न तीन करोड रुपैयाँ आवश्यक भएको बताउँदै विभिन्न बैंकसँग ऋण मागे । तर कुनै बैंकले उनलाई पत्याएनन् । सरकारले पनि उनको प्रस्तावमा चासो नदिए पछि पुनले वार्षिक ४ प्रतिशत ब्याज तिर्ने गरी स्वदेश वा विदेशमा रहेका नेपालीसँग फेसबुक स्टाटसमार्फत ऋण दिन आग्रह गरे ।
राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन गरिरहेका पुनले नेपालका दुर्गम भेगमा बसोबास गर्ने मानिसहरुको उत्थानका लागि विगत १० वर्षदेखि सञ्चालित इको टुरिजमलाई थप व्यवस्थित बनाउन एक करोड रुपैयाँ आवश्यक रहेको फेसबुक स्टाटसमा जनाएका छन् ।
यसैगरी, उनले राष्ट्रिय आविस्कार केन्द्रका लागि सानो स्केलमा सामानहरु बनाउने कारखाना सञ्चालनका लागि दुई करोड रुपैयाँ आवश्यकता औंल्याएका छन् । आविस्कार केन्द्रमा उत्पादन भई परीक्षणसमेत भएका औजारहरु सानो स्केलमा उत्पादन गरी बिक्री गर्ने उनको लक्ष्य छ ।
यी दुवै प्रयोजनका लागि न त बैंक तथा वित्तीय संस्थाले पुनलाई पत्याए न त सरकारले नै चासो दियो । अन्ततः पुनले फेसबुकमा स्टाटस लेखेर वार्षिक ४ प्रतिशत ब्याज तिर्ने गरी तीन वर्षका लागि तीन करोड रुपैयाँ उपलब्ध गराउन चाहने मनहरुको नाडी छामे ।
अमेरिका, जापान, अष्ट्रेलिया, युरोपतिरका मानिसहरुलाई उनले ब्यक्तिगत वा समूहमा नै उक्त रकमका लागि आग्रह गरेकोमा केही मनहरु यसरी अग्रसर भए कि पुनको वैज्ञानिक क्षमताको सम्बोधन हुने गरी आवश्यक रकम सहयोगका रुपमा कोषमा जम्मा हुने भएको छ ।
अष्ट्रेलियामा सामको अभियान
महाबिर पुनलाई सहयोग गर्न साम नेपालीका नामले चिनिने सुमन देउजाले अष्ट्रेलियाबाट रकम संकलनको अभियान सुरु गरेका छन् । आफूले व्यक्तिगत रुपमा एक हजार डलर कोषमा राखेर अन्य साथीहरुलाई आग्रह गरेका देउजाले आज २५ तारिकको बिहानसम्म ८०० डलर थप रकम संकलन गरेको जनाएका छन् । वैज्ञानिक पुनले गर्ने आविस्कारका लागि समर्पण गर्ने उद्देश्यले सामले आगामी जनवरी १ सम्म रकम संकलन गरेर प्रदान गर्ने कार्यक्रम बनाएका छन् ।
साम नेपालीले अस्ट्रेलियमा विभिन्न सामाजिक कार्यहरु पनि गरिरहेका छन् । उनले फेसबुकमार्फत अन्तरराष्ट्रिय विद्यार्थीहरुको लागि कोठा भाडामा खोज्न सहयोग गर्ने, काम खोज्न सहयोग गर्ने, नेपाली विद्यार्थीहरुलाई आपत विपतमा आर्थिक सहयोग गर्नेजस्ता कामलाई विगत ७ वर्षदेखि निरन्तरता दिइरहेका छन् ।
पेशाले शैक्षिक परापर्शदाता सुमन देउजा (साम)ले अष्ट्रेलियाको मेलवोर्नमा मुख्य कार्यालय राखेर नेपालको काठमाडौ र बिर्तामोडमा जेनियन एजुकेशन एण्ड भिजा सर्भिसेस सञ्चालन गरिरहेका छन् । देउजाले आफ्नी हजुरआमाको स्मृतिमा बछलादेवी सोसियल फाउण्डेशन स्थापना गरी झापामा विभिन्न सामाजिक कामहरु पनि गरिरहेका छन् ।
सुमनको अग्रसरतामा वैज्ञानिक पुनको राष्ट्रिय आविस्कार केन्द्रका लागि आवश्यक रकम जुट्नेमा जेनियन एजुकेशन एण्ड भिजा सर्भिसेस बिर्तामोडका प्रमुख लक्ष्मीकान्त खनालले विश्वास व्यक्त गरेका छन् ।
लण्डनबाट ईशाको फेसबुक अपील
वैज्ञानिक महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई लण्डनमा बस्ने समाजसेवी ईशा गुरुङले सहयोग गर्ने बचन दिँदै अरुहरुसँग पनि फेसबुकमार्फत् सहयोगको अपील गरेकी छन् । नेपालका दुखी, गरिब तथा बिपतमा परेका मानिसहरुलाई निरन्तर सहयोग गर्दै आएकी गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेको बताएकी हुन् ।
आफूले लण्डनमा बसेर विगत १०–१२ वर्षदेखि सामाजिक काम गरिरहेकोले वैज्ञानिक पुनको आग्रहलाई आत्मसाथ गरी यथाशक्य सहयोग जुटाएर उनलाई ऋणको बोझ हुन नदिई वैज्ञानिक आविस्कारमा सहयोग गर्न गुरुङले अपील गरेकी छन् ।
Comments