सार्वजनिक विदा नपाए पनि हर्षोल्लाषपूर्वक मनाइयो ख्रिष्टमस
Published:
by .बिर्तामोड । इसाई धर्मावलम्बीहरुले आज डिसेम्बर २५ का दिन विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाइरहेका छन् । नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा ख्रिष्टमसको रमझम देखिएका छन् ।
२००० वर्षभन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा प्रभु येशु ख्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले ख्रिस्टमस पर्व मनाउने गर्छन् ।
यसैक्रममा झापाको बिर्तामोडस्थित विलिभर्स इस्टर्न चर्चमा पनि ख्रिष्मटमस जन्मोत्सव मनाइएको छ । प्रदेश सांसद झलकसिंह दर्लामी सन्देशको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष एवम् नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, मनकामना कलेजका प्राध्यापक तथा पत्रकार गोपाल काफ्ले लगायतको आतिथ्य रहेको थियो ।
डा. चित्ररुपाचा राईले अध्यक्षता गरेको कार्यक्रममा विपन्न समुदायका परिवारलाई जाडोबाट बच्नका लागि न्यानो कपडासमेत बितरण गरिएको आयोजक संस्थाका विरु दर्नालले जानकारी दिए ।
कार्यक्रममा प्रभु यसुको आराधना गर्दै भजन कीर्तन, साङ्गीतिक कार्यक्रम, अभिनय, प्रहसन लगायत प्रस्तुत गरिएको थियो । ख्रिष्मसको जन्म दिनको अवसरमा केट काटेर एक आपसमा खुशीयाली साटासाट गरिएको थियो ।
कार्यक्रममा आमन्त्रितहरुलाई शाब्दिक स्वागत गर्दै विलिभर्स इस्टर्न चर्चका जनसम्पर्क प्रमुख विरु दर्नालले धर्म निरपेक्ष मुलुकमा क्रिश्चियन धर्मावलम्बीले आज एक दिन पनि सार्वजनिक विदा नपाउनु दुखद भएको जिकिर गरे । उनको प्रश्नमाथि समर्थन गर्दै वडाध्यक्ष सिटौलाले पनि सार्वजनिक विदा नदिएर क्रिश्चियन धर्मावलम्बी माथि सरकारले विभेद गरेको दोहोर्याए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद दर्लामीलाई पनि दुवै वक्ताको कुरा सही लाग्यो र उनले आगामी वर्षदेखि कम्तीमा प्रदेश सरकारलाई आजको दिन सार्वजनिक विदा गराउन पहल गर्ने बचन दिए । उनले संघीय सरकारले पनि क्रिश्चियन धर्मावलम्बीलाई मात्र नभएर सार्वजनिकरुपमै विदा दिनुपर्ने तर्फ लविङ गर्ने आश्वासन दिएका छन् ।
Comments