भद्रपुरमा अन्तराष्ट्रिय भन्सार दिवश मनाइयो
Published: (Updated: )
by .
भद्रपुर । ६८ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर भद्रपुर भन्सार कार्यालयले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
भद्रपुर भन्सारका प्रमुख फणिन्द्र खतिवडाको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान तथा वार्षिक गतिविधि कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट प्रशासन समूहका नायव सुब्बा वीरेन्द्रनाथ पाण्डे्य र प्राविधिक समूहका कम्प्युटर अपरेटर जगदिश्वर काफ्लेलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ रानाले भन्सार राजश्व चुहावटमा कर्मचारीलाई व्यापारीले प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने धारणा राखे । देशको अर्थतन्त्रको आधा हिस्सा ओगटेको भन्सार राजश्व छली गर्ने आचरण बन्द नभएसम्म सुधारको अवस्था नआउने भन्दै रानाले भद्रपुर भन्सारको स्तरीकरणका प्राविधिक समस्या हल गर्न नेपाल तथा भारत सरकारको सम्युक्त पहल जरूरी रहेको प्रष्ट्याएका थिए ।
लेखा अधिकृत देवीचरण भण्डारी सरोजले सञ्चालन गरेको कार्यक्रममा कार्यालयका वार्षिक कार्य तथा भावी योजना प्रमुख खतिवडाले प्रस्तुत गर्दै एक वर्षे अवधिमा भद्रपुर भन्सारले स्तरीकृत सेवा दिन नसक्नुमा आयात निर्यातका लागि भारतीय पक्षका कानुनी प्रावधान सुधारको आवश्यकता रहेको जानकारी दिए । उनले छोटी भन्सारको व्यवहारले मूल भन्सारका काममा अवरोध हुने हुँदा कानुनी सुधार सहित सडक स्तरीकरणको अभावले समेत भद्रपुर भन्सारका प्रभाव परिरहेको प्रष्ट्याए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ, उद्योग संघ राजनीतिक दल, व्यापारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
Comments