Sajhamanch Archive

सुर्खेतमा गोली चल्दा ८ घाइते, १२ घण्टा कर्फ्यु लगाइयो

Published: in राष्ट्रिय समाचार by .

सुर्खेत । सुर्खेतमा भएको प्रदर्शनमा गोली चलेको छ । गोली चल्दा ८ जना घाइते भएका छन् ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशरसिंह ठकुरीको टिपरको ठक्करले मृत्यु भएपछि चर्किएको तनावलाई नियन्त्रण गर्न प्रशासनले १२ घण्टे कर्फ्यु आदेश जारी गरेको छ । ठकुरीको मंगलबार बिहान ८ बजे मृत्युु भएको थियो ।

आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र आन्दोलनकारी समूहले गोली चलाएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार शान्तिसुरक्षालाई मध्यनजर गर्दै मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कंफ्र्यु लगाइएको छ ।

‘पूर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्गदेखि पाँच सय मिटरसम्म कर्फ्यु लगाइएको छ,’ खड्काले भने । जिल्ला प्रहरी कार्यालय, र प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकता अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्नेसमेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *