मन्त्री गजमेरलाई सम्मान, भ्रष्टाचार नगर्ने प्रतिवद्धता
Published: (Updated: )
by .
बिर्तामोड । प्रदेश नम्वर १ की सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले प्रदेशको नामाकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताएकी छिन् ।
संघीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा भएको छलफलमा बोल्दै उनले प्रदेशको नामाकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दावी गरिन् ।
समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धता समेत जनाइन्। छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृहरुले राखेको धारणा र दिएको सुझावप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारको तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने जानकारी दिइन्।
झापाका युवा नेता तथा नेतृहरुले संघीयता कार्यान्यवनमा देखिएका जटिलतालाई समयमै सम्वोधनका लागि राज्यमन्त्री गजमेर मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । राज्यमन्त्री गजमेरको सम्मान सहित छलफल कार्यक्रमको आयोजना संवाद समूह झापाले गरेको थियो ।
सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आफू यो ठाउँमा पुग्नुमा संवाद समूहको ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सिपलाई प्रदेश सभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले आफू पदमा रहँदा पदीय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाइन् ।
छलफल तथा सम्मान कार्यक्रममा युवा नेता तथा महिला नेतृहरु सीपी कडरिया, सरु न्यौपाने, अधिवक्ता कविता शर्मा, गौरीमान फागो , पुष्पा लिम्बू, राधा सुब्बा, पार्वता विमली, नवीन ढुङ्गाना, सीता वस्नेत, प्रशान्त भण्डारी लगायतले सम्वन्धित विषयमा आफ्नो धारणा राखेका थिए । उहाँहरुले राज्यमन्त्री गजमेरलाई वधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । संवाद समूहको तर्फबाट सम्मान पत्र, खादा, मालाद्धारा मन्त्री गजमेरलाई सामुहिक सम्मान गरिएको थियो ।
Comments