Sajhamanch Archive

सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी : कार्यविधि बनाउँदै राष्ट्र बैंक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी औपचारिक माध्यमबाट नगरे कारबाही गर्ने चेतावनी दिएको राष्ट्र बैंक बल्ल यससम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विज्ञापनको भुक्तानीमार्फत विदेशी मुद्रा अपचलन भएको दाबी गर्दै राष्ट्र बैंकले बिनातयारी कारबाहीसम्मको चेतावनी दिएर भुक्तानी रोकेपछि सरोकारवालाले तत्काल स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकालले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानीलाई बैंकिङ प्रणालीमा ल्याउन खोज्नु राम्रो भए पनि कार्यविधि नहुँदा समस्या परेको बताए । ‘सामाजिक सञ्जालमा हुने भुक्तानी बैंकिङ प्रणालीमार्फत गर्न कुनै समस्या छैन,’ उनले भने, ‘तर राष्ट्र बैंकले सक्दो छिटो नीतिगत बाटो दिनुपर्छ ।’

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले सामाजिक सञ्जालको भुक्तानीलाई औपचारिक प्रणालीमा ल्याउन लागिएको बताए । ‘सामाजिक सञ्जालमा विज्ञापन गर्दा धेरै विदेशी मुद्रा अपचलन भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएको छ,’ उनले भने, ‘त्यस्ता कारोबार औपचारिक प्रणालीमा ल्याउन राष्ट्र बैंकले कार्यविधि बनाइरहेको छ ।’ सरोकारवालासँग पनि छलफल जारी रहेको उल्लेख गर्दै उनले कार्यविधि र प्रक्रियाबारे १०÷१५ दिनमा निर्देशन जारी गरिसक्ने जानकारी दिए ।

राष्ट्र बैंकले फेसबुक, युट्युब, गुगललगायत सामाजिक सञ्जाल र इन्टरनेटमा दिने विज्ञापनका लागि अनौपचारिक माध्यमबाट भुक्तानी नगर्न र गरे कारबाही गर्ने चेतावनी गत साता दिएको हो । नेपालमा रहेको व्यापार व्यवसाय प्रवर्द्धन गर्न फेसबुक तथा युट्युबमा विज्ञापन गर्ने र त्यसको रकम विदेशका आफन्त वा विदेशी कम्पनीबाट भुक्तानी गर्न लगाई हुन्डीबाट रकम पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ ।
कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *