Sajhamanch Archive

सिन्धुपाल्चोकको जुगलमा कोरोना होइन, सामान्य रूघाखोकी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सिन्धुपाल्चोकमा केही दिनयता फैलिएको सरुवा रोग कोरोना भाइरस नभएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको चर्चा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। गाउँपालिकाले कोरोना जस्तै लक्षण देखिएको रोग फैलिएको भन्दै मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३, गुम्बा गाउँमा देखिएको भनिएको रोग सामान्य रुघाखोकी भएको जानकारी दिए। उनले त्यहाँका कुनै पनि गाउँलेलाई कोरोनाको संक्रमण नभएको पनि बताएका छन्। ‘सिन्धुपाल्चोकको जुगलमा फैलिएको कोरोना होइन, सिजनल फ्लु रुघाखोकी हो’, उनले भने, ‘अहिले जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको छ। आवश्यक परे हामी काठमाडौंबाट पनि स्वास्थ्यकर्मी पठाउँछौं।’केही दिनयता फैलिएको रुघाखोकीले २ सय भन्दा धेरै गाउँले बिरामी भएपछि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ खटिएको छ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले कोरोना आशंकामा मन्त्रालयलाई पत्र पठाएपछि सञ्चारमाध्यममा समाचार फैलिएको थियो। जुगल गाउँपालिका-३ साबिकको गुम्बा गाविसमा वडा नम्बर ८ गुम्बा बस्तीमा सोमबारदेखि नोबल कोरोना भाइरसको लक्षणसँग मेलखाने लक्षण देखिएको उनले पत्रमा उल्लेख गरेका थिए। गाउँपालिकाले पत्र पठाएसँगै स्वास्थ्य मन्त्रालयले जिल्लाबाट स्वास्थ्यकर्मीको टोली परिचालित गरेको हो। जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेको हो। बुधबारसम्म बिरामी हुनेको संख्या २०० नाघेको छ। चीनबाट नजिकको दूरीमा भए पनि शंकाकै आधारमा त्रास नफैलाउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्। कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले बताए। जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधि र माक्स किनेर पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *