विराटनगर सूर्तीनिषेधित महानगरपालिका घोषणा हुँदै
Published: (Updated: )
by .
विराटनगर । विराटनगर फागुन ५ गतेदेखि सूर्ति र सूर्तिजन्य पर्दाथ (खैनी, चुरोट, बिँडी, सिँगार, गुट्खा, पान, सुल्फा) को खुल्ला सेवन र बेचबिखन निषेधित महानगरपालिका घोषणा हुदैछ
सूर्ति र सूतिजन्य पर्दाथ बेचबिखन ऐन २०६८ लाई पूर्ण रूपमा कार्यान्वनयमा ल्याउन एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले ५ फागुनदेखि विराटनगरलाई सूर्ति र सूर्तिजन्य पर्दाथहरूको खुल्ला सेवन र बेचबिखन पूर्ण रूपमा निषेधित क्षेत्र घोषणा गर्दैछन् ।
५ फागुनदेखि विराटनगर महानगरपालिकाभित्रका सबैखाले विद्यालय, सरकारी कार्यालय र संवेदनशील सार्वजनिकस्थलको एक सय मिटरवरपर पान, गुट्खा, खैनी चुरोट बिक्री गर्न पाइनेछैन । साथै कसैले पनि कुनै पनि सार्वजनिक स्थानमा खुल्ला रूपमा सेवन गर्न पाउनेछैन । अटेर गर्नेहरूलाई अनुगमन टोलीले ‘स्पट’ कारवाही गर्र्नेछ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीव्यराज कट्टेलले ५ फागुनदेखि विराटनगर महानगर र त्यसपछि क्रमशः जिल्ला जिल्लामा घोषणा कार्यक्रम आयोजना गरेर क्रमशः एक नम्बर प्रदेशलाई नै सूर्ती र सूर्तीजन्य पर्दाथ सेवन बेचबिखन निषेधित क्षेत्र घोषणा गराउने योजना रहेको जानकारी दिए ।
अटेर गर्ने यसरी हुन्छ कारवाही
अटेर गरेर बिक्री र सेवन गर्नेहरू स्पट कारवाहीमा पर्नेछन् । अटेर गरेर सेवन गर्नेलाई पहिलोपल्ट एक सय रुपैयाँ जरिवाना गर्ने र सार्वजनिक स्थलबाट बाहिर निकाल्ने काम हुनेछ । सरकारी कर्मचारीले सेवन गरेमा विभागीय कारवाहीमा समेत पर्नेछन् । सूचना टाँस नगरी बिक्री गर्ने विक्रेता र विनाअनुमति उत्पादन गर्ने उद्योगीले पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवना तिर्नुपर्ने छ ।
सामाजिक विकास मन्त्रालयबाट सुरु गरियो निषेध अभियान
२४ चैत २०७५ मा एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सूर्ती र सूर्तीजन्य पर्दाथ आदि लैजान र सेवन गर्न पूर्णनिषेध गराएको थियो । यसपछि सामाजिक मन्त्रालयले १ वैशाख २०७६ देखि प्रदेशभरिका जनस्वास्थ्य कार्यालय र निर्देशनालय अनि स्वास्थ्य विषय पढाइ हुने विद्यालयहरूमा पनि सूर्ती निषेध घोषणा गरेको थियो । २०७६ माघ तेस्रो हप्तादेखि प्रदेश राजधानीमा रहेका सबै मन्त्रालय र सरकारी कार्यालयहरूवरपर सय मिटर आसपास खैनी, चुरोट, गुट्खा, पान सेवन पूर्णनिषेध गराएको थियो । १३ माघमा बसेको एक नम्बर प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशलाई आगामी चैतसम्म सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण गर्ने कानूनको पूर्णपालना गराउने निर्णय गरेको थियो ।
एक नम्बर प्रदेशमा सूर्ती ऐन कार्यान्वनको यस्तो थियो अस्वस्था
सूर्ती र सूर्तीजन्य पर्दाथ बेचबिखन ऐन २०६८ लागू भएको आठ वर्ष बितिसके पनि नियमकारी निकायहरूले कानून कार्यान्वयन नगर्दा एक नम्बर प्रदेशका सबै शहर बजार र ग्रामिण क्षेत्रका पसल र सार्वजनिक स्थलहरूमा खैनी, चुरोट र गुट्खाहरू बिक्री र सेवन रोकिएको छैन ।
संवेदनशील सार्वजनिक निकायहरू विद्यालय, अस्पताल, सिनेमा हल, सार्वजनिक यातायात, सरकारी कार्यालय, सभागृह, रंगशाला आदि स्थानमा पनि खुलेआम चुरोट, खैनी सेवन गर्ने चलन अझै कायमै छ ।
सार्वजनिक निकाय र संवेदनशील स्थानबाहिरका पसलहरूमा खुल्ला रूपले सूर्ती र सूर्तीजन्य पर्दाथ बिक्री वितरण हुँदै आएको छ । व्यस्त सडकहरूमा पनि मानिसहरू सूर्ती–खैनी सेवन गर्ने गरिरहेका भेटिन्छन् ।
सूर्ती ऐन कार्यान्वयन गराउनका लागि भन्दै प्रदेशका जिल्लाहरूमा बेलाबेला प्रशासनले मापदण्ड पालना नगरेको भन्दै केही गुट्खा उद्योगमा छापा मार्ने र अबैध रूपमा आयात गरिएका सूर्ती नियन्त्रणमा लिनेबाहेक अन्य काम गरेको छैन । प्रहरीले चाहिँ कहिलेकाँही आफ्नै इन्ट्रेसमा सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेहरूलाई चेतावनी दिने गरको छ ।
यस्तो छ सुर्ती ऐनमा व्यवस्था
सुर्ती ऐन २०६८ अनुसार सूर्तीजन्य पर्दाथहरू गुट्खा, खैनी, चुरोटको प्याकेट सरकारले तोेकेको मापदण्डअनुसारको हानिकारक चित्र अंकित भएको हुनुपर्दछ । बिक्री गर्नेहरूले सूर्तीजन्य पर्दाथ सजाएर राख्न पाउँदैनन् । बालबालिकाहरूलाई र जेष्ठ नागरिक, अनाथालय, मन्दिर–मस्जिद, विद्यालय आदि संवेदनशील स्थानको एक सय मिटरवरिपरि सूर्ती र सूर्तीजन्य वस्तु बिक्री र सेवन गर्न पाइँदैन । अन्य सूर्ती बिक्रि र सेवन गर्ने स्थानहरूमा अनिवार्य सूचना टाँस गरिएको हुनुपर्छ । साथै बिक्री गर्नेले अनिवार्य अनुमति लिएको हुनुपर्छ । कुनै पनि सार्वजनिक स्थलमा सूर्ती र सूर्तीजन्य पर्दाथ सेवन र बेचबिखन गर्न पाइँदैन । केही पर्यटकीय स्थलहरूमा विषेश क्षेत्र निर्धारण गरेर मात्र सूर्ती सेवन गर्न गराउन पाइन्छ ।
यसैले नियन्त्रण गर्नुपर्छ सूर्ती र सूर्तीजन्य पर्दाथ
क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलका अनुसार मानिसमा लाग्ने क्याम्सरको मुख्य कारण सूर्ती र सूर्तीजन्य पर्दाथको सेवन हो । ९० प्रतिशत फोक्सोको क्यान्सर धुम्रपान हो । नेपाल अझै ५० प्रतिशत पुरुष १५ प्रतिशत महिलाहरूले सुर्ती सेवन गर्नेगरेका छन् । नेपालमा प्रतिघण्टा ४ जना मानिस सूर्ती सेवनकै कारण मर्ने गरेका छन् ।
सूर्ती नदेखिने मृत्युको आँधी हो । स्वास्थ्य मन्त्रालयका सहसचिव बद्रीबहादुर खड्काका अनुसार नेपालमा सूर्तीको प्रयोग महामारीकै रूपमा रहेको छ । यसैले विश्वका एक सय ८० देशले झैँ नेपालले पनि सूर्ती र सूर्तीजन्य पर्दाथ नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानूनमा हस्ताक्षर गरेर देशको कानून निर्माण गरेको छ । तर कानून निर्माणपछि निर्देशिका बनाएर सूर्ती हानिकारक छ भनेर शिक्षा दिन सफल भएपनि बेचबिखन र सेवन नियन्त्रण गर्नचाहिँ अझै नेपाल असफल छ ।
Comments