Sajhamanch Archive

सैनिक हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दार्चुला । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् ।

आज विहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन् । ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

हिजो दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरे । भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ ।

उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ । उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला आएका थिए ।

सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो ।

दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य शुरु भएको छ । अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *