Sajhamanch Archive

आज ग्याल्बो ल्होसार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (सोमबार) मनाइँदैछ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष शुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहनुभएका टीका शेर्पाले जानकारी दिए ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता शेर्पाले सुनाए ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छन् ।

ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ग्याल्बो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । यस पर्वमा समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *