Sajhamanch Archive

झापाका दुई स्थानीय तहमा मकैजोन कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि किसानहरु मकैखेतीतर्फ आकर्षित भएका छन् ।

झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएको छ ।

धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् ।

उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष सङ्घीय सरकारबाट १ करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले बताए ।

झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात (हाइब्रिड) मकैखेती गर्दै आएका छन् ।

झापामा मकैजोन कार्यक्रम लागू भएपछि मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दो छ ।

झापा गाउँपालिकाको छ वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकैखेती गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

एक बिघा क्षेत्रफलमा यहाँका कृषकले १ लाखदेखि एक लाख ५० हजारसम्म मकै बेचेर आम्दानी गर्ने गरेको गाउँपालिका–३ का देवकुमार गणेशले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *