Sajhamanch Archive

कोरोना त्रास: इरानका ५४ हजार कैदी रिहा, सर्वोच्च नेता खमेनीकै निकटस्थको ज्यान गयो

Published: in राष्ट्रिय समाचार by .

कोरानो भाइरसले महामारीको रुप लिएपछि इरानले जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन्।

भीडभाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो। कोरोना संक्रमण निस्तेज भएपछि बाँकी सजाय भुक्तानीका लागि यी कैदीहरु फेरि जेलमा फर्कनुपर्नेछ। कैदीहरुमा कोरोना संक्रमण जाँच गरिएको र संक्रमण नभेटिएपछि जेल बाहिर पठाइएको न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्लाइलीले जानकारी दिएका छन्। तर पाँच बर्षभन्दा बढी सजाय तोकिएका कैदीहरुलाई पनि रिहा गरिएको छैन।

इरानले जेलमा राखेका सहायताकर्मी नाजानिन जहारीलाई पनि केही समयभित्रै रिहा गर्ने तयारी भइरहेको बताइएको छ। कोरोनाका कारण दुईसाताभित्रै ७७ इरानीले ज्यान गुमाइसकेका छन्। त्यहाँका स्वास्थ्यमन्त्रीले मंगलबार मात्रै कोरोना संक्रमणको दर साविकको भन्दा ५० प्रतिशतका दरले बढेको बताएका छन्। सरकारी तथ्यांकअनुसार अहिलेसम्म २३३६ जनामा कोरोना संक्रमण भएको छ। तर संक्रमितहरुको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान गरिएको छ।

इरानी संसदका २३ सांसद र निकै धेरै संख्यामा उच्चअधिकारीहरुमा पनि कोरोना संक्रमण भएको छ। सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका निकटस्थ मोहम्मद मिर्मोहामादीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताइएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक टोली सोमबार नै राजधानी तेहरान पुगिसकेको छ। उनीहरुले स्थानीय स्वास्थ्य अधिकारीहरुलाई कोरोना संक्रमण रोकथामका लागि सहयोग गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *