पश्चिमी र स्थानीय वायुको मिश्रण: आज चट्याङ र असिनासहित प्रि-मनसुनयताकै ठूलो बर्षा
Published:
by .
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण नेपालको मौसममा बदली आएको छ ।
आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित प्रि–मनसुन शुरु भएयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । स्थानीय वायुमा पश्चिमी वायु समेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन्
‘यो प्रि–मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायु समेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ मौसमविद् नगरकोटीले भन्छिन् ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको छ ।’
उनले आज विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ । उनले थपिन्, ‘मध्य र पूर्वी क्षेत्रमा वर्षा हुँदै हुँदैन भन्ने होइन । पश्चिको तुलनामा कम छ ।’
उनका अनुसार हावाहुरी, चट्याङ र असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ ।
उनका अनुसार वर्षा हुने, रोकिने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दोहोरिरहने देखिन्छ । यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होशियारी अपनाउन उनको सुझाव छ ।
मौसमविद् नगरकोटीका अनुसार अहिले बिहान भने दाङदेखि बाराको सिमरासम्म मौसम सामान्यतया सफा छ भने देशका बाँकी स्थानमा मौसम सामान्यदेखि आंशिकसम्म बदली छ । शनिबार देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा बताइएको छ ।
काठमाडौंमा पानी पर्ला कि नपर्ला ?
आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ । मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङ, असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ । बिहान ५ः४५ बजको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ।
विन्टर अर्थात् हिउँद यामको अन्त्य र वर्षायाम शुरु हुनुअघिका तीन महिना मार्च, अप्रिल र मेलाई प्रि–मनसुनको अवधि मानिन्छ । यस अवधिमा हावाहुरी, चट्याङ, असिनासहितको वर्षा हुने मौसमविद् बताउँछन् ।
Comments