Sajhamanch Archive

काँकडभिट्टामा कोरोना सङ्क्रमणको अडियो बनाउने महिला को हुन् ?

Published: in समाज by .

कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएको छैन । तर, अनावश्यक र भ्रमपूर्ण प्रचारवाजी पनि रोकिएको छैन । कहिले नर्भिक हस्पिटलमा कोरोना सङ्क्रमित भेटिएको प्रचारबाजी सुनिन्छ । कहिले सेनाले मध्यरातमा कोरोनाविरुद्ध विषादी छर्किन लागेको भ्रम छरिन्छ । अहिले सामाजिक सञ्जालमा झापाको काँकडभिट्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको अडियो भाइरल भइरहेको छ ।

महिला आवाजमा रहेको अडियोले आतङ्क फैलाएको भन्दै सर्वसाधारणले व्यक्ति पहिचान गरी अविलम्व कार्वाही गर्न माग गरेका छन् । स्थानीय मनिषा मेडिकलले कोरोनाको परीक्षण गरेको र पाँच जनामा सङ्क्रमण देखिएको भन्दै ती महिलाल ३८ सेकेण्डको अडियो बनाएकी छन् । त्यो अडियो एकपछि अर्काे गर्दै सामाजिक प्रयोगकर्ताको म्यासेन्जरमा पठाउने गरिएको छ । आखिर भ्रम फैलाउने ती महिला को हुन् ? उनको खोजीका लागि प्रशासनले कदम चाल्नु पर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।

कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षण काठमाडौँमा मात्रै हुन्छ । यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा मात्रै हुन्छ । सङ्क्रमणको आशङ्का गरिएका विरामीको स्वाव परीक्षणका लागि सम्वन्धित अस्पतालले पठाएपछि मात्रै प्रयोगशालाले जाँच अघि बढाउँछ । तर, काँकडभिट्टामा पाँच जनामा कोरोना सङ्क्रमण भएको अडियो बनाएर भ्रम छर्ने ती महिलालाई यस विषयमा सामान्य हेक्का पनि छैन । उनले मनिषा मेडिकल हलको नाम लिएर पूर्वाग्रहीरुपमा अडियो भाइरल बनाउन खोजेको अनुमान गर्न सकिन्छ ।

यसअघि नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई चार दिनअघि पक्राउ गरेको थियो ।

नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो) का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान गर्छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ । प्रहरीले गलत हल्लाका पछाडि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ । सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ ।

विवेचनाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *