Sajhamanch Archive

सम्भावित संक्रमित नमूना परीक्षणका लागि काठमाडौं आउनुु नपर्ने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित संक्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित संक्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस (रिफर) नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताए ।

उनले हालसम्म कूल ६१० को नमूना परीक्षण भएकोमा दुईको कोभिड–१९ पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र हाल एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत भइरहेको बताए ।

हाल सो अस्पतालमा १६ जना संक्रमित भएको आशङ्कामा रहेकोमध्ये पाँच जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन् । प्रवक्ता डा देवकोटाले सम्भावित संक्रमणको प्रक्षेपणको दायरालाई बढाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीर अस्पतलामा चाँडै नै नमूना परीक्षणको प्रबन्ध गरिने जानकारी दिए ।

फ्रान्सबाट कतार हुँदै गत साता काठमाडौं आएकी १९ वर्षीया एक युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

साथै उनीसँगै सवार व्यक्ति पनि सम्पर्कका आई क्वारेन्टाइनमा जाने क्रम शुरु भएको छ । यसैगरी मन्त्रालयको कलसेन्टरमा पाँच हजार २३१ ले सम्पर्क गरी कोभिड–१९ को बारेमा जानकारी लिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले सम्बन्धित अस्पतालमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ) पठाउन क्रम शुरु गरिएको जानकारी दिए । उनले बजारमा लुकाई राखिएका पिपिइलाई खोजी र नयाँ उत्पादन गरी आवश्यकताका आधारमा अस्पतालमा पठाइने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *