बेलायती प्रधानमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण
Published:
by .
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।
शुक्रबार ट्वीटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछु ।’
हाल आफू सेल्फ आइसोलेसनमा बसिरहेको पनि उनले ट्वीटमा जानकारी दिएका छन्। जोनसनले आफूले घरबाटै काम गर्ने जनाएका छन्। बेलायत सरकारले हालै २ हप्ताको लागि देश लकडाउन गरेको छ। यसबीचका सबैलाई घरमै बस्न आग्रह गरिएको छ। जोनसनले ट्वीटमा पनि सबैलाई घरमै बस्न भनेका छन्।
अहिले कोरोनाको उद्गमस्थल चीनमा कोरोनाबाट संक्रमित र मृतक र घट्न थालेकोे छ। तर युरोप र अमेरिकी देशहरुमा कोरोनाको प्रभाव बढ्दो छ। बेलायतमा बुधबारसम्म ११ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ५७८ जनाको मृत्यु भइसकेको छ।
विश्वको १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसका कारण हालसम्म २४ हजार ८६३ ले ज्यान गुमाइसकेका छन्। हालसम्म ५ लाख ४९ हजार २२० संक्रमित बनेका छन्। उपचारपछि १ लाख २८ हजार ६३७ स्वस्थ बनेता पनि हालसम्म कोरोनाको औषधि र खोप बन्न सकेको छैन। खोप र औषधि परीक्षण कालमै छन्।
Comments