Sajhamanch Archive

काेराेना भाइरस देखिएकाे भन्दै हल्ला फिजाउने दमकबाट एक पक्राउ

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । कोरोना भाइरसको संक्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति झापाको दमकबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजय पण्डितका अनुसार दमक–१ का कुमार राईलाई भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको हो । उनले उपचार गर्न एम्बुलेन्समा लाँदै गरेको बिरामीलाई देखाउँदै सामाजिक सञ्जालबाट कोरोना लागेको भनेर प्रचार गरेका थिए । यसैबीच संक्रमणबाट बच्न हालसम्म झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० शैय्याको क्वारेन्टाइन निर्माण गरेको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताए ।

भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।  मेची नगरपालिकामा ७० शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई  राखिएको छ । मेचीनगरपालिकामा अहिले २४ वटा क्वारेन्टाइनमा छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् ।

जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका  र कनकाई नगरपालिकामा १०÷१० शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३ सय ३१ जना होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *