धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु
Published:
by .
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ ।
प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका छन् ।
अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो । सरकारका सात वटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश नं १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए ।
प्रतिष्ठानले हालसम्म कोरोना बिमारीको उपचार गर्न गरिएको व्यवस्थापनबारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा गुरुप्रसाद घिमिरेले जानकारी गराए । कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराएका थिए । प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए ।
Comments