विर्तामोड नगर भित्र विपन्न परिवारको लगत संकलन शुरु
Published:
by .
बिर्तामोड । लकडाउनका कारण भोकमरीमा पर्नसक्ने अबस्थालाई मध्यनजर गरी खाद्यान्न वितरण गर्नका लागि बिर्तामोड नगरपालिकाले विपन्न परिवारको विवरण संकलन गर्न थालेको छ ।
टोल विकास समितिमार्फत विपन्न परिवारको विवरण संकलन गरी वडा कार्यालयमा बुझाउने र वडाले दिएको तथ्यांकलाई छानबिन गरी नगरपालिकाले राहत उपलब्ध गराउने भएको हो । नगरपालिकाले विपन्न गरिव , असहाय र अशक्त पहिचान गर्न मापदण्ड नै बनाएको छ । त्यही मापदण्डलाई टेकेर विपन्न परिवारको विवरण मंगलबार संकलन गरिएको बिर्तामोड— ३ स्थित आदर्श टोल विकास संस्थाका अध्यक्ष कुमार दाहालले बताए । उनले आफ्नो टोलका ४० विपन्न परिवारको विवरण भरेर पठाएको जानकारी दिए । विभिन्न टोल समितिबाट विपन्नको विवरण आउने क्रम जारी रहेको बिर्तामोड —३ का वडा सचिव भीम अधिकारीले बताए । उनले फारम भर्नेको संख्या अत्यधिक रहेको जानकारी दिए ।
बिर्तामोड नगरपालिकाले विपन्नलाई खाद्यान्न वितरण गर्न ५० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । राहत कोषमा प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको तलब भत्ता प्रदान गर्ने भएका छन् । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन गर्न कार्यबिधि बनाएर नगर प्रमुख ध्रुबकुमार शिवाकोटी संयोजक, उप प्रमुख पबित्रा महतारा प्रसाई सहसंयोजक , सबै वडाध्यक्षहरु सदस्य रहने गरी एक नगरस्तरीय समिति गठन गरिएको छ । समितिको सोमबार बसेको बैठकले खानै नपुग्ने अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्न लगत संकलन गर्ने निर्णय गरेको थियो ।
Comments