Sajhamanch Archive

कोरोना संक्रमणको ख्यालै नगरी जिप्रकामा सवारी पास लिनेको भीड

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

ललितपुर । ललितपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा लकडाउनको अवधिमा सवारी सञ्चालन पास लिन आउनेको दिनहुँ भीड लाग्ने गरेको छ ।

अन्य दिनको तुलनामा मंगलबार अस्वाभाविक रूपमा भीड बढेपछि व्यवस्थापनका लागि प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । सञ्चारकर्मी, खानेपानी, अस्पताल, खाद्यान्न सप्लायर्स, तरकारी, दुग्ध उत्पादन तथा वितरणलगायत विभिन्न निकायका मानिस सवारीसाधन सञ्चालन पास लिन पुगेपछि भीड व्यवस्थापनका लागि प्रहरीलाई हम्मेहम्मे परेको हो ।

पहिलो चरणको लकडाउन (११–१७ चैत) अवधिसम्म दिएको पासको अवधि सकिएकाले दोस्रो चरण (१८–२५ चैतसम्म)को पास बनाउन भीड लागेको ललितपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ललितपुरका साहयक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले भने, ‘पहिलो चरणको लकडाउनमा वितरण भएको पासको म्याद सोमबार सकिएको छ ।

दोस्रो चरणका लागि पास लिन आउँदा भीड भएको हो । भोलिबाट भीड घट्नेछ ।’ भीड व्यवस्थित गर्न प्रहरीले बारम्बार प्रयास गरेको थियो । प्रहरीले एक मिटर दूरी कायम गरेर लाइनमा बस्न आग्रह गरे पनि सर्वसाधारणले सो आग्रहलाइ बेवास्ता गरेका थिए ।

पास लिन आएका विनोद केसीले भने, ‘हामीले चाहेर पनि सामाजिक दूरी कायम गर्न नसकेका हौँ । एक–एक मिटरको दूरी कायम गरियो भने लाइन मानभवन प्रवेश गर्ने मुख्य सडकसम्म पुग्छ ।’

भीडमा कोरोना संक्रमणको जोखिम हुन्छ
खगेश्वर गेलाल, प्रमुख स्वास्थ्य कार्यालय, ललितपुर
भीड नगर्न सरकारले गरेको अनुरोधलाई यहाँ नागरिकले अवज्ञा गरेकोजस्तो देखिन्छ । जिल्ला प्रशासन कार्यालयआगाडि एक सयभन्दा बढीको भीड बिहानैदेखि थियो । हुन त उनीहरू अत्यावश्यक नभई पास लिन पक्कै आएका होइनन् ।

तर, जे नै भए पनि लकडाउनको अवधिमा यस्तो भीड हुँदा कोरोना संक्रमणको जोखिम बढी हुन्छ । कोरोना संक्रमण लक्षण नदेखिएका मानिसबाट पनि सर्न सक्छ । पास लिन आउनेमध्ये कोही विदेशबाट आएको हुन सक्छ । यसले त झन् जोखिम बढ्यो । नयाँ पत्रिका दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *