संक्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्रयाक ट्रेसिङ’
Published:
by .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का संक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्रयाक ट्रेसिङ) सकेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेएका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको कोभिड–१९ नेगेटिभ आएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना र बागलुङमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ ।
देशभर यसको कोरोना आशंका गरिएका ९९ बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन् । देवकोटाले आज नयाँ ७३ बिरामीको नमुना परीक्षणको नतिजा आएको जानकारी दिएका हुन् ।
यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनीहरुको पनि नमूना परीक्षण गरिने उनले जानकारी दिए । बारामा निधन भएका एक जना दुर्घटनासम्बन्धि बिरामी भएको उनले बताए ।
Comments