Sajhamanch Archive

बिर्तामोडका ७२ विपन्न परिवारलाई युवाले बाँडे खाद्यान्न

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । कोभिड १९ संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दुई छाक टार्नै समस्या भएका ७२ विपन्न परिवारलाई बिर्तामोड—३ का युवाले आफ्नै खर्चमा आज राहत बाँडेका छन् ।

विरेन्द्र तामाङ, सिताराम सिटौला, विवेक मानन्धर, मेदनी रेग्मी, बेचु मोहमद र मोती राजवंशीले ब्यक्तिगत रकम संकलन गरी विपन्नहरुलाई खाद्यान्न सहयोग गरेका पत्रकार इन्द्रसिंह राजवंशीले जनाएका छन् । ती युवाले विपन्न परिवारको पहिचान गरी तीन दिन अघिदेखि राहत बाँड्दै आएका छन् ।

हरेक विपन्न परिवारलाई ५ केजी चामल, १ पोका खानेतेल, १ पोका नून, १ केजी दाल, १ पोका सोयाबिन र डेढ केजी आलु प्रदान गरिएको राहत अभियानका अगुवा तामाङलाई उधृत गर्दै राजवंशीले बताएका छन् । स्थानीय तहले दिने भनेकोे खाद्यान्न वितरण कार्यक्रम ढिलो हुने देखेर आफूहरुले बिजोगमा रहेका अतिविपन्न परिवारहरुलाई केही दिनका लागि भएपनि छाक टार्न सहयोग गरेको अभियन्ताहरुको भनाई छ ।

खाद्यान्न वितरणका क्रममा ती युवाले बिर्तामोड वडा नं. ३ र १० मा रहेका २१ मुसहर परिवारहरुलाई समेत बुधबार सहयोग गरेका छन् । उनीहरुले घरघरमा पुगेर विपन्न मुसहरहरुलाई खाद्यान्न प्रदान गरेका हुन् ।

दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मुसहरहरु लकडाउनका कारण काम बन्द भएपछि माछा खाएर गुजारा गर्दै आएको बताउँछन् । नजिकैको अन्धुवा खोलामा एक सातादेखि मुसहरहरुले माछा मारेर छाक टार्ने गरेको उनीहरुको भनाई छ । थोरै भएपनि वितरण गरिएको खाद्यान्नले आफूहरुलाई ठूलो राहत मिल्ने मुसहर बस्तीकी अन्जु चौधरी ऋषिदेवले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *