आजबाट सातवटै प्रदेशमा कोभिड–१९ को परीक्षण
Published:
by .काठमाडौँ । उपत्यका बाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण गर्ने मेसिन मंगलबार पुगेपछि अब सातवटै प्रदेशमा नमूना परीक्षण सुरु भएको छ ।
धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताएका छन् । परीक्षण गरिएका सबैको रिपोर्ट नेभेटिभ आएको पनि उपकुलपति खनालले जानकारी दिएका छन् ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीनवटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एकजनाको रिपोर्ट आउन वाँकी रहेको छ ।
प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात आजबाट नमूना परीक्षण गर्ने काम हुन लागेको कोभिड– १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिएका छन् ।
उनका अनुसार यी पाँचै स्थानमा नमूना परीक्षणका लागि पोर्टेवल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको पनि जनाइएको छ ।
Comments