Sajhamanch Archive

श्रमीकलाई ज्याला, राहत र सुरक्षाको माग

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेस झापाले श्रमीकहरुलाई तत्काल ज्याला र राहत उपलब्ध गराउन तथा असुरक्षित तवरले काममा नलगाउन चिया वगान, चिया कारखाना, निर्माण, यातायात, होटल, पर्यटन, कृषि, उद्योग, ब्यावसायिक क्षेत्रलाई आग्रह गरेको छ ।

ट्रेड युनियन कांग्रेसका झापा अध्यक्ष यज्ञप्रताप अधिकारीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै विशेष गरी चिया क्षेत्रमा र अन्य उद्योग प्रतिष्ठानहरुमा समेत श्रमीकहरुलाई असुरक्षित तरिकाले काम गराइरहेको पाइएकोले कोरोना भाइरस फैलन सक्ने जोखिम रहेको भन्दै असुरक्षित तरिकाले काममा नलगाउन आग्रह गर्नुभएको हो ।

एकातिर लकडाउनको पूर्ण पालनाको घोषणा गर्ने र अर्कोतिर उद्योगी÷ब्यवसायीलाई उद्योग सञ्चालनका लागि अनुमति दिने सरकारको दोहोरो नीतिले मजदुरहरु मारमा परिरहेको र जनाउँदै विज्ञप्तिमा ‘आवश्यक सुरक्षा पद्दति नअपनाई कार्य गर्दा जुनसुकै बेला कोरोना भाइरसको जोखिममा पर्नसक्ने हुँदा दोहोरो नीति तत्काल अन्त्य गर्न सरकारसँग माग गर्दछौं’ भनिएको छ ।

‘हाल संचालनमा रहेको अत्यावश्यक क्षेत्रको उद्योगमा समेत कोरोना भाइरसबाट बच्ने पिपिई लगायतका सुरक्षा उपायको प्रभावकारी अवलम्बन नगरिरहेको अवस्थामा उद्योगहरु नै कोरोना भाइरसको महामारीमा पर्ने त होइन ?’ भन्ने प्रश्न उब्जिएको जनाउँदै विज्ञप्तिमा आवश्यक सुरक्षा उपकरण पि.पि.इ, पञ्जा, मास्क, सेनिटाइजर, गम्बुट, चश्मा, ेलगायतका सुरक्षा उपकरण उपलब्ध गराएर सामाजिक दुरी कायम राख्दै काममा लगाउन सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ ।

‘झापा जिल्लाका चिया क्षेत्रमा अत्यधिक श्रमीकहरु कार्यरत रहेको र उनीहरुलाई सम्बन्धित उद्योग प्रतिष्ठानले ज्याला उपलब्ध नगराएको तथा सरकारले वितरण गर्ने राहत पनि चिया श्रमीकलाई उपलब्ध नगराईएको अवस्थाले चिया श्रमीकको परिवार भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ’–विज्ञप्तिमा भनिएको छ–‘ लकडाउनको अवस्थामा कामविहीन भई घरमै बसेका श्रमीकलाई दैनिक गुजारा चलाउनका लागि मजदुरको ज्याला तत्काल उपलब्ध गराउन सम्बन्धित उद्योग प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण गराउँदै विशेष राहत प्याकेज घोषणा गरी चिया श्रमीकलाई तत्काल राहत उपलब्ध गराउन जोडदार माग गर्दछौं ।’ अन्यथा भोका श्रमीक र आश्रित परिवार सडकमा निस्कने अवस्था आएमा सम्बन्धित पक्ष र सरकार जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

अन्त्यमा कोरोना भाइरसको महामारीबाट विश्वमा मृत्युवरण गर्न बाध्य सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा संक्रमीतको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न पनि विज्ञप्तिमा र सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *