Sajhamanch Archive

इलामस्थित नेपाल–भारत सीमाको सात स्थानमा अस्थायी सुरक्षा पोस्ट

Published: in राष्ट्रिय समाचार, समाज by .

इलाम । कोरोना भाइरसको संक्रमण भारतमा थप बढ्दै गएपछि लुकीछीपी नेपाल प्रवेश गर्ने र सिमानामा विभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रका सात स्थानमा सशस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ।

लकडाउनको समयमा भारतबाट आउनेक्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको हो। भारतसँग सिमाना जोडिएको रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समालबुङ, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, माईजोगमाई गाउँपालिकाको मेघमा र सन्दकपुर गाउँपालिकाको जौबारीमा अस्थायी सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोशन श्रेष्ठले जानकारी दिए।

प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘सीमा नाकाबाट आएका मानिस क्वारेन्टाइनमा नगइदिएपछि कोरोनाको जोखिम बढ्ने देखियो। यो त्रास नहटेसम्म सिमानामा उच्च निगरानी गर्छौं।’ चैत १९ मा भारतको सुकिया र मानेभञ्ज्याङबाट भागेर पशुपतीनगर आउँदै गर्दा नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईसँगको समन्वयमा स्वास्थ्य परीक्षण गराई गाउँमा गएर १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा पठाइएको थियो। गत बिहीबार समालबुङ हुँदै नेपाल प्रवेश गरेका दुईजना नेपालीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएका छन्। झापाका स्थायी बासिन्दा उनीहरुलाई सूर्योदय नगरपालिका र प्रशासनको समन्वयमा पशुपतीनगर क्वारेन्टाइनमा राखिएको छ। यसरी खुला सीमाको फाइदा उठाएर नेपाल प्रवेश गर्नेहरु बढ्दै गएका छन्।

जसले कोरोनाको जोखिम बढाउँदै लगेको छ। रोङ गाउँपालिकादेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटर नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै भारतमा काम गर्न, पढ्न र भारतीय नागरिक समेत नेपाल प्रवेश गरिरहेका छन्। यसरी आउनेहरु कुनै स्वास्थ्य परीक्षण नगराउने र क्वारेन्टाइनमा समेत नबस्ने गरेका कारण इलामका सिमावर्ती ग्रामिण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। प्रहरीले पशुपतिनगर र जौबारी नाकामा कडाई गरेपछि अवैध तरिकाले आउनेहरुको संख्या समेत बढ्दै गएको छ। स्थानीय तहका जनप्रतिनिधिले समेत सिमानामा निगरानी गर्दै आएका छन्। माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले सशस्त्र प्रहरीको सीमा पोस्ट स्थापना भएपछि यस्ता अवान्छित गतिविधि रोक्न सहयोग पुग्ने बताए। रोङ गाउँपालिकाका बिभिन्न क्षेत्र भएर भारतबाट आउने क्रम नरोकिएपछि स्थानीय युवाले समेत सीमानामा निगरानी गर्दै आएका छन्। सशस्त्र प्रहरी बल पशुपतिनगर बिओपीका इन्सपेक्टर पवन खड्काले कोरोनाको संक्रमण रोकिएपछि अस्थायी पोस्ट हटाइने जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *