चीनबाट स्वास्थ्य सामग्री लिएर आए वाइडबडी
Published:
by .
काठमाडौं । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । एउटा जहाज सजिलै अवतरण गरे पनि अर्को एउटा जहाजले भने धावनमार्गमा टेक्नै लाग्दा ओभरसुट गरेको थियो ।
बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
ती जहाजमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् । निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।
त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उडान नम्बर ४१७२ जहाजले ओभरसुट गरेको थियो । ‘पाइलट सायद केही कन्फ्युज भए होलान् त्यसैलै ओभरसुट गराए’ ती अधिकारीले भने ।
ओभरसुट गरिएको जहाज केहीबेर आकाशमा फन्को मारेर फेरि अवतरण गरेको थियो । हवाई उडानमा ओभरसुट सामान्य मानिन्छ । सामान्यतया कम भिजिबिलिटी वा अन्य द्विविधाका कारण पाइलटले ओभरसुट गराउँछन् ।
Comments