प्रदेश १ को भारतीय सीमामा थप कडाई, ५ हजार सुरक्षाकर्मी परिचालन
Published:
by .
विराटनगर । प्रदेश १ का भारतसंग सिमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाई गरिएको छ ।
शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको छ ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा ३ हजार ७ सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।
दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीका प्रहरी नायव महानिरीक्षक नगेन्द्र थापाले जानकारी दिए ।
उनले शनिबारदेखि प्रदेशको मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप पाँचसय जनशक्ति परिचालन गरिएको जानकारी दिए । लकडाउनपछि ३ हजार २ सय सशस्त्र प्रहरी परिचालनभएकामा शनिवारदेखि ३ हजार ७ सय जना परिचालन भएका छन् ।
नेपाल प्रहरीले चार जिल्लाको सीमा क्षेत्रलाई केन्द्रित गरी १ हजार १ सय १ जना प्रहरी परिचालन गरेको छ ।
कुल २ सय २९ स्थानमा सुरक्षा पोष्ट खडा गरी सुरक्षा तैनाथी बढाएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उनले बताए ।
लकडाउनपछि दशगजा क्षेत्रको १ किलोमिटर दुरीमा सुरक्षापोष्ट शनिबारदेखि पाँचसय मिटरको दुरीमा खडा गरिएको छ । अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक ५ सय मिटरमा सुरक्षा पोष्ट राखिएको छ ।
भारतको विहार र पश्चिम बंगाल राज्यसंग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल ३ सय ८ वटा नयाँ पोस्ट थपिएको छ । ती पोस्टमा सात जनाको दरले सशस्त्र प्रहरी रहने छन् ।
झापाको सीमा क्षेत्रमा सबैभन्दा बढी १ सय १४, सुनसरीमा ६९, मोरङमा ७१ र इलाममा १४ वटा नयाँ पोस्ट थपिएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको २ सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ ।
सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ ।
अनलाइनबाट ।
Comments