Sajhamanch Archive

विराटनगरमा १२ संक्रमितको अवस्था सामान्य, डाक्टर पनि क्वारेन्टाइन बस्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना भएका १२ संक्रमितको उपचार सुरु भएको छ । शुक्रबार राति अस्पताल भर्ना भएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई औषधि दिन थालिएको छ ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार संक्रमित सबैको अवस्था सामान्य छ । उनीहरुलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन ।

उदयपुरको एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएपछि १२ जनालाई कोरोना अस्पतालमा र संक्रमण नदेखिएका चार जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा राखिएको छ ।

पाँच चिकित्सक उपचारमा, क्वारेन्टाइन बस्ने

कोशी अस्पताल विराटनगरले कोरोना अस्पतालमा भर्ना भएका विरामीको उपचारका लागि ५ जना चिकित्सकको टोली खटाएको छ । त्यसबाहेक नर्स र सहयोगी कर्मचारी पनि खटिनेछन् ।

पाँचमध्ये ४ चिकित्सकले ६–६ घण्टाका दरले ड्युटी गर्नेछन् । एक जनाको भने चौबिसै घण्टा ड्युटी पर्नेछ । उपचारमा खटिने चिकित्सकले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउनेछन् । पीपीई लगाएपछि ६ घण्टासम्म शौचालय जान र खानपान गर्न सहज हुँदैन । खानपान गर्नुपर्ने वा शौचालय गर्नुपरे पीपीई खोल्नुपर्छ र खोलिएको पीपीई सेटका सामग्री पुन प्रयोग गर्न हुँदैन ।

‘पाँच जना डाक्टरको टोलीले काम गर्दै गर्नुहुन्छ’ डाक्टर मिश्राले भनिन् ‘सातदिनपछि होम क्वारेन्टाइनबाट सेवा दिनुहुन्छ ।’ संक्रमण पुष्टि भएका १२ जनाकै र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)विधिबाट परीक्षण गर्दा भने कोरोना एन्टीबडी नेगेटिभ देखिएको थियो ।तर कोशी अस्पतालमा थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि काठमाडौंमा पुन परीक्षण गरिएको थियो । काठमाडौंमा पोजेटिभ देखिएपछि उनीहरलाई कोरोना अस्पतलमा भर्ना गरिएको हो ।

अनलाइन खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *