नेपालमा कोरोना संक्रमणको चरण दोस्रो कि तेस्रो?
Published: (Updated: )
by .
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिदमा भारतको दिल्ली र विराटनगरबाट आएका गरी १३ जना जमाती मुसलमानमा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। यो संक्रमणपछि नेपालमा संक्रमण कुन चरणमा रहेको हो अझै स्पष्ट भएको छैन।
विश्व स्वास्थ्य संगठनले फैलावटका हिसाबले कोरोना भाइरसको संक्रमणलाई चार चरणमा भाग लगाएको छ जसमा, अन्य देशबाट आएका संक्रमित पहिलो चरणका बिरामी पर्छन् भने दोस्रो अन्यदेशबाट आएका व्यक्तिबाट सिधै आफ्नो परिवारमा सरेका आफन्त नजिकका नातेदार अवस्थाका बिरामी फेला पर्नु हो। तेस्रो चरणमा समुदायमा फैलिएको अन्यत्र पनि नगएको र अन्यत्रबाट आएका व्यक्तिसँग सिधै सम्पर्क नभएको अवस्थालाई मानिएको छ र चौथो देशभर महामारी फैलिएको अवस्थालाई मानिन्छ।
भुल्केका एक दर्जनभन्दा बढीमा स्थानीय बासिन्दामा संक्रमण देखिएपछि अहिले नेपालमा कोरोना संक्रमण विश्व स्वास्थ्य संगठको मापदण्डअनुसार दोस्रो चरणमै छ कि तेस्रो चरणमा प्रवेश गरेको हो भन्नेमा एकमत हुन सकेको छैन। हालसम्म संक्रमित हुनेहरू उदयपुरको भुल्केकै रहेको बताइएको छ। यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ। भुल्केमा भारतबाट आएका नागरिकमा कोभिड १९ देखिएको बताइए पनि पछिल्लो समय त्यहाँकै स्थानिय बासिन्दामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले अझै पनि नेपालका कोरोना भाइरसको संक्रमण दोस्रो चरणमै रहिरहेको बताए पनि जनस्वास्थ्यविद्हरुले भने नेपालमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगिसकेको बताएका छन्।
केही समयअघि धनगढीको एक संक्रमित युवाको परिवारका सदस्यमा संक्रमण सरकेको देखिएको थियो। तर केही दिन अगाडि उदयपुरको भुल्केमा स्थानीय बासिन्दालाई एकैपटक धेरैमा संक्रमण देखिएपछि अब नेपालमा कोरोना भाइरस तेस्रो तहमा पुगेको हुनाले अझै उच्च सतर्कता अपनाउनुपर्ने बताउँछन्। इपिडजिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी सानो क्षेत्रमा भए पनि नेपालमा अब कोरोना भाइरस संक्रमण तेस्रो चरणमा पुगेको हुनाले सबै भन्दा पहिले त्यो ठाउँका सबैको परीक्षण गराउनुपर्ने बताउँछन्। उनले भने, ‘सबैको परीक्षण बढाउनुपर्छ। वरिपरिकालाई पनि परीक्षण गराउनुपर्छ। जसमा अति गम्भीर क्षेत्र, गम्भीर क्षेत्र र सुरक्षित क्षेत्र भनेर छुट्याएर परीक्षणको दायरा बढाउनुपर्छ।
‘यस्तै सरकारले अझै कोभिड–१९ को उपचारको लागि छुट्टै अस्पताल बनाएर उपचारको दायरा बढाउनुपर्ने उनले बताए। अब यसरी नै अन्य ठाउँमा स्थानीयमा संक्रमण देखियो भने महामारीको चरणमा पुग्ने हुँदा अहिलेनै सजग हुनु पर्ने डा मरासिनिको भनाइ छ। तर, अझैसम्म नेपालमा कोभिड–१९ फैलावटको आधारमा दोस्रो चरणमै रहेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। उनले भने, ‘उदयपुरको हकमा पनि विदेशबाट आएका जमाती मुस्लिम धर्म गुरुहरुबाट उनीहरुलाई सहयोग गर्ने निकट मानिसहरुमा मात्रै सरेको हुँदा दोस्रो चरणमै रहेको रहेको ठहर छ। हामीले यस विषयमा अझै अध्ययन गर्दै छौँ।’
Comments