Sajhamanch Archive

भूकम्प दिवसमा प्रधानमन्त्रीको सन्देश: कोरोनाविरुद्धको लडाई साहस र संयमले जित्छौं

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूकम्प दिवसका अवसरमा तीन पृष्ठको सन्देश जारी गर्दै कोरोनाको संकटका कारण पुनर्निर्मित रानीपोखरी आजैका दिन उद्घाटन गर्ने योजना पूरा हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा उनले भनेका छन्, ‘मल्लकालीन नाशो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नव निर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो, सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न भैसक्ने थियो ।’

भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइमा एकताबद्ध हुन उनले सबैमा आग्रह गरेका छन् । उनले विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन पनि आग्रह गरेका छन् ।

‘सदृष्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृष्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं”, सन्देशमा भनिएको छ, ‘यतिबेला विश्वका विभिन्न देश जस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ ।’

उनले भनेका छन्, ‘त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको सर्वविदितै छ, मलाई विश्वास छ, कोरोना भाइरसविरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं ।’

‘अहिले लकडाउनका कारण सिङ्गो अर्थतन्त्र ठप्प प्रायः रहेको छ, यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन’, सन्देशमा भनिएको छ, ‘यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पनि प्रभावित हुनपुगेका छन्, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचालु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ, पुनर्निर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *