Sajhamanch Archive

झापामा ४२ हजार हाराहारीलाई खाद्य सहयोग, ६ करोड २० लाख बढी राहत कोषमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । झापा जिल्लामा अति विपन्न परिवारका लागि खाद्यन्न सहयोग कार्यक्रम अन्र्तगत ४१ हजार ५ सय ३८ परिवारलाई राहत वितरण गरिएको छ ।

बन्दाबन्दीका कारण रोजगारी गुमाएर भोकमरीमा परेका अति विपन्न परिवारका एक लाख ६९ हजार ८ सय ८ जनालाई खाद्यन्न राहत स्वरूप वितरण गरिएको हो । झापाका १५ वटा स्थानीय तहले वडा वडामा गठन भएका टोल विकास संस्था मार्फत न्युन आर्थिक अवस्था भएका अति विपन्नको पहिचान गरी न्युनतम १० किलो देखि अवस्था हेरेर १५ किलोसम्म चामल तथा आवश्यकता अनुसार नून, तेल, दाल राहत स्वरूप वितरण गरेका हुन् । बन्दाबन्दीको एक महिने अवधिमा खाद्य अभावले कोही पनि छट्पटिने अवस्था नरहेको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिको भनाइ छ ।

ती परिवारलाई सात लाख ५७ हजार २ सय ५० किलो चामल, ९५ हजार १ सय २७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४ सय १४ किलो तेल, २९ हजार ८ सय ५८ साबुन र चिनी चिउरालगायतका ४९ हजार ९ सय ५१ किलो राहत सामग्री उपलब्ध गराइएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिको विवरणले देखाएको छ ।

यसै बीच झापाका १५ स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा हालसम्म ६ करोड २० लाख ५६ हजार ७ सय ४३ रुपैयाँ रकम जम्मा भएको छ । जसमा स्थानीय तहको ४ करोड ९३ हजार रुपैयाँ रहेको छ भने व्यक्तिगत एवंं सामाजिक सङघसंस्थाका तर्फबाट २ करोड १९ लाख ६३ हजार ७ सय ४३ रुपैयाँ प्राप्त भएको छ । यस रकमलाई कोरोना संक्रमण रोकथाम, उपचार तथा अति विपन्नका लागि खाद्य सहयोगमा खर्च गर्ने गरी कोष परिचालन गर्ने नीति रहेको जनाइएको छ ।

झापा कोरोना संक्रमणबाट अहिलेसम्म सुरक्षित रहेको छ । चैत २८ गतेदेखि सुरू गरिएको द्रुत परीक्षण विधिबाट हालसम्म ६ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६ सय ५९ जनाको आरडिटी, ८४ जनाको स्वाब, ८४ जनाको पिसीआर, ५९ जनाको पिसीआर र आरडिटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए । यी परीक्षणले अहिलेसम्म झापामा कोरोना संक्रमित नभएको पुष्टि गरिसकेका छन् ।

झापाका १५ स्थानीय तहले २७ स्थानमा ७ सय ७८ जना क्षमताका क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १ सय ८५ जना रहेका छन् भने २ सय ३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

यस अवधिमा विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९ सय ९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ५ सय ७ जना आएका छन् । त्यसपछि युनाइटेड अरब इमिरेट्सबाट २ सय २, कतारबाट १ सय १२, मलेसियाबाट ३४, साउदी अरेबियाबाट ३२, युनाइटेड स्टेटबाट १५, बहराइन र कुवेतबाट १४÷१४, दक्षिण कोरियाबाट नौ, ओमनबाट आठ, हङकङ, जापान र माल्दिभ्सबाट छ÷छ जना आएका छन् । अन्य मुलुकबाट एक÷दुई जनाको संख्यामा झापा आएका छन् । वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जाने झापालीको संख्या एकिन नभए पनि ५० हजार बढी रहेको अनुमान छ ।

यसैगरी भद्रपुर ९ नम्बर वडा कार्यालयले वडा भित्रका अति विपन्न परिवारलाई भोकमारीबाट बचाउन पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ । वडा भित्र रहेका राजनीतिक दल, सामाजिक संघ संस्था, वित्तीय संस्था, दानवीर दाता महानुभाव लगायतबाट प्राप्त नगद तथा जिन्सी सहयोग जुटाएर वडा कार्यालयले ३ लाख ४ हजार मूल्य बरावरको खाद्य सामग्री राहत स्वरूप वितरण गरेको हो ।

वडा सदस्य नेत्रप्रसाद पौडेलका अनुसार प्रति परिवार १० किलो चामल, एक किलो नून, एक किलो दाल, आधा किलो तेल र एक थान साबुन गरी प्रति परिवार ७२० रूपैया मुल्य बराबरको खाद्य सहयोग गरेको हो । वडा सदस्य पौडेलले विपतमा वडा कार्यालय नागरिकको पक्षमा रहेको भन्दै सहयोगी मनहरूप्रति आभार व्यक्त गरे ।

कार्यवाहक वडाध्यक्ष राम दाहालका अनुसार बन्दाबन्दीले दैनिक ज्यालादारीमा जीविका चलाउने विपन्न परिवारले गर्ने सवै काम रोकिएपछि आर्थिक अभावका कारण भोकै मर्नु पर्ने अवस्था अन्त्य गर्न दाताको खोजी गरी राहत स्वरूप खाद्यन्न वितरण गरिएको हो । उनले बन्दाबन्दीको पूर्ण पालना गरी रोगबाट आफू पनि बचौं र अरूलाई पनि बचाउन सहयोगको अपेक्षा गर्दै वडाबासीसित अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *