भारतमा ७१४ को मृत्यु, २३ हजार नाघे संक्रमित
Published:
by .
नयाँदिल्ली । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २३ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घण्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घण्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २८३ जनाको निधन भएको छ । संक्रमितमध्ये ८४० जना भने निको भएका छन् ।
\महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ सक्रमित रहेका छन् । संक्रमितमध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ ।
गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११२ को ज्यान गएको छ । यसैबीच २५८ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ ।
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।
साउदी अबरमा कोरोनाबाट ११ भारीयको मृत्य
यसैबीच साउदी अरबमा ११ भारतीयर नागरिकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ ।
‘यही बुधबार ( अप्रिल २२ ) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ’, राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
राजदूतावासले भनेको छ, ‘कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित संकटका समय अफवाह फैलाउँदा महामारीका कारण अनावश्यक अशान्ति र पीडा हुने हुँदा शान्त रहन भारतीय समुदायलाई अनुरोध छ । सामाजिक सञ्जालले गलत र अपुष्ट सूचनालाई प्रचार गर्नु ठीक होइन र यसका कारण सामुदायिक वैरभाव निम्तिन्छ र यसले नैतिकरूपमा भ्रष्ट वातावरणलाई प्रश्रय दिन्छ ।’
‘प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्ता कोेभिड–१९ को सङ्क्रमणले कुनै समुदाय, धर्म, वर्ण, जाती, भाषा, विचार र सीमा नहेर्ने हुँदा हाम्रा प्रतिक्रिया एवम् व्यवहार एकता र सहभातृत्वको श्रेष्ठतासँग गाँसिनु पर्छ’, विज्ञप्तिमा भनिएको छ ।
यसबाहेक, अरबमा खाद्यान्न, औषधि तथा अन्य आपतकालीन सहयोगको आवश्यकता भएका भारतीयहरूलाई उचित प्रवन्धका लागि राजदूतावासले सबै सम्भावित विकल्प र उपायको अवलम्वन गरिरहेको छ ।
यसअघि गत बुधबार नै साउदी अरबका लागि भारतीय राजदूत औसफ सैयदले साना सहरमा रहेका भारतीय समुदायका स्वयंसेवकहरूसँग कोभिड–१९ को भारतीय नागरिकमाथि परेको प्रभावबारे छलफल गर्नुका साथै उनीहरूको हितका लागि विभिन्न उपायहरू अवलम्वन गरिने विश्वास दिलाएका थिए ।
Comments