कोरोना भाइरसको सचेतनासहित घर घरमै वितरण गरियो, सामाजिक सुरक्षा भत्ता
Published:
by .
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएको अवस्थामा सम्वधित वडाहरुले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् ।
कोरोनाका भाइरसको सन्त्रासले गर्दा शारीरिक अपाङ्गकता भएका, एकल महिला, ज्येष्ठ नागरिक र दलित बालबालिकाहरुलाई घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । यस्तो परिस्थितिमा भत्ता लिन बैंक तथा वडाहरुसम्म जान समस्या हुन्छ त्यसैले हामीले घरमै भत्ता वितरण गरेका हौं । भत्ता वितरणका क्रमममा ज्येष्ठ नागरिकका समस्याहरु, राहत पाउन कोही विपन्न परिवार छुटेका छन् की भनेर सोध्ने गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट बच्न, सावधानी अपनाउन सुझाउँदै ज्येष्ठ नागरिकहरुलाई दीर्घ जीवनको शुभकामनासहित मास्क पनि वितरण गरिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
वडा नं. ११ मा वडाध्यक्ष श्रेष्ठसहित कार्यपालिका सदस्य गीता खरेल, वडा सदस्य बहादुर आङ्बोले भत्ता वितरणमा सहजीकरण गरेका छन् । वडा नं. ११ मा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ९३७ रहेको छ ।
त्यस्तै वडा नं. ८ र ९ ले पनि घर घरमै गएर सामाजिक सुरक्षा वितरण गर्न थालिएको जनाएको छ । शिवतसाक्षी नगरपालिकाले एक सातामा नगरका सबै वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्ने जनाएको छ ।
Comments