बहराइनमा एकै दिन थप ७७ नेपालीमा कोरोना, कुवेतमा संक्रमित नेपाली ५१ जना पुगे
Published:
by .
काठमाडौं । रोजगारीको शिलशिलामा खाडी मुलुक पुगेका नेपाली श्रमिक कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुने क्रम बढ्दै गएको छ ।
बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र तीन वटा अलग–अलग कम्पनीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ जना पुगेको छ । उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि दूतावासले जनाएको छ ।
बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५४६ जना पुगेको छ । जसमध्ये एक हजार २४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट आठ जनाको ज्यान गएको छ ।
कुवेतमा कोरोना संक्र्रमित नेपालीको संख्या ५१ पुग्यो
यता कुवेतमा थप २२ जना नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएको छ । थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका छन् । कुवेतमा यसअघि २९ नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।
कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् । मंगलबारसम्ममा कुवेतमा तीन हजार ४४० जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये एक हजार १७६ जना उपचारपछि निको भएका छन् । यस्तै दुई हजार २४१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासले यी देशमा २०६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निको भएर काममा फिरेका छन् । दुवई (यूएई) मा कोरोनाबाट दुई नेपालीको ज्यान गएको छ ।
अहिलेसम्म बहराइनमा १२१, यूएईमा १२, साउदीमा ४, कुवेतमा ५१, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा २०६ जना नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको छ । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।
Comments