नयाँ संक्रमित भेटिएनन्, ५८ हजार बढीको कोरोना परीक्षण
Published: (Updated: )
by .
काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ ।
जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
विगत २४ घण्टामा प्रयोगशाला र र्यापिड टेस्ट गरी करिब १७ सय वटा नमुना परीक्षण भएको छ । ती सबैका नतिजा नेगेटिभ आएको छ ।
हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसमध्ये १६ जना निको भई घर फर्किसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जना उपचाररत छन् । त्यसैगरी वीरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिले देशभर गरी २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनस्थलमा छन् । उपत्यकामा ३ र उपत्यका बाहिरका अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।
Comments