रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी
Published: (Updated: )
by .
काठमाडौ । रेडियो नेपालीकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा शुक्रबार बिहान साढे २ बजे निधन भएको उनको वृत्तचित्र ‘५६ वर्षपछि’ बनाएका गायक तथा संगीतकार सुमन खड्काले पुष्टि गरे । उनको शुक्रबार बिहानै अन्त्येष्टि भइसकेको छ ।
रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणा शासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् । उनको वि.स. २००६ सालमा रेडियो नेपालमा ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगाएतका गीत चर्चित छन् । तारिणीप्रसादकै शब्दरसंगीतमा कलकत्ता पनि उनको गीत रेकर्ड भएको थियो ।
नेपाली राजनीतिकी आर्दश व्यक्तित्व नोना कोइरालाकी बहिनी हुन्, रानुदेवी । इतिहासमा स्नात्तकोत्तर रानुदेवीले विक्रम संवत् २०२३ सालदेखि २०५३ सम्म अध्यापन गरेकी थिइन् । २००६ सालमै उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो, त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनका एक छोरा र दुई छोरी छन् ।
रानुदेवीका एक छोरा र एक छोरी अमेरिकामा छन्, उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।
Comments