Sajhamanch Archive

क्वारेन्टाइनमा लैजाँदै गर्दा वृद्धको मृत्यु, स्वाव परीक्षण गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

डडेल्धुरा । बैतडीमा भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहार रहेका छन्।

उनको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश फर्किएका थिए। एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए।

उनको शनिबार बिहान बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। उनका अनुसार मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ।

मृतक लुहारको शवलाई प्लास्टिक बेरेर सुरक्षात्मक तरिकाले दाह संस्कारका लागि आफन्तहरुलाई भनेको पनि कुँवरले जानकारी दिए। लुहारसंग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए। यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए। उनीहरुमध्ये ८४८ जना पुर्चौंडी नगरपालिकाका छन्। भारतबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *