Sajhamanch Archive

कचनकवलमा राइस मिलसहित किराना पसल कार्वाहीमा

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । जिल्ला अनुगमन समितिले झापाको दक्षिणी क्षेत्रमा रहेको कचनकवल गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित चारवटा पसललाई स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा नियमविपरित काम गर्ने केही व्यपापारीलाई कारवाही गरिएको छ भने दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित हुन पत्र काटिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले गणेश राईस मिल, लालबाबु किराना पसल, प्रदिप किराना पसल, सुरज किराना पसललाई कारवाही गरेको हो । गणेश राईस मिलले मादक पदार्थ विक्रीका लागि राखेको पाएपछि जिल्ला प्रशासन कार्यालय झापाबाट खटिएको अनुगमन टोलीले कारवाही गरेको जनाएको छ ।

गणेश राईस मिलका नाममा दर्ता रहेको मिलले किराना पसलका साथै मादक पदार्थ पनि विक्रीका लागि राखिएको पाइएपछि अनुगमन टोलीले १५ हजार जरिवाना गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छवि खतिवडाले जानकारी दिए ।

त्यसैगरी कचनकवलकै बनियानीस्थित लालबाबु किराना पसलमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि टोलीले २० हजार जरिवाना गर्दै म्याद गुज्रिएका लगभग ५ हजार मूल्य बराबरका जंग फुडजन्य खाद्य पदार्थ समेत नष्ट गरेको जनाइएको छ ।
त्यसैगरी बजार मूल्य भन्दा बढी मूल्यमा सामग्री विक्री वितरण गरेको भन्दै प्रदिप किराना पसललाई चेतावनीसहित २० हजार जरिवाना गरेको छ भने अनुगमन टोलीले मूल्यसूची नराखेको, मापदण्ड अनुसारका ढक तराजु नराखेको पाइएपछि बनियानीकै सुरज किराना पसललाई ५ हजार जरिवाना गर्दै कार्यालयमा उपस्थित आदेश दिएको छ । अन्य दुईवटा पसललाई पनि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनका लागि पत्र काटेको खतिवडाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा बजार अनुगमनमा निस्किएको टोलीमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख खतिवडा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भरत गिरी लगायतको टोली रहेको थियो ।

कचनकवलमा बजार अनुगमन गर्नु अघि टोलीले गाउँपालिकाका अध्यक्ष अञ्जार आलमसहित वडाध्यक्षहरुसंग बैठक गरी अनुगमन गर्न शुरु गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *