Sajhamanch Archive

सालीसँग प्रेम बसेपछि श्रीमतीको योजनावद्ध विभत्स हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धनुषा । सालीको प्रेममा परेका धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स रुपमा योजनावद्ध हत्या गरेका छन् ।

श्रीमतीलाई पाखा लगाएर साली भित्र्याउने योजनासहित पत्नीको हत्या गरेर सामुदायिक वनमा शव गाड्ने श्रीमान प्रहरीले पक्राउ गरेको छ ।

धनुषको मिथिला नगरपालिका–९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिएका छन् । चौहानले श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घरको बलो काट्ने भन्दै लगेर सलले बेरेर हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

‘गत वैशाख १८ गते नै हरिले बिणाको सलले घाँटी थिची हत्या गरेका रहेछन,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’

गाडी चालक रहेका हरिले श्रीमती वीणा (लामा) चौहान हराएको भन्दै पिताले हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी थालेको थियो । अनुसन्धानकै क्रममा हरिलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ ।

‘हरिको बयानका आधारमा हामीले आइतबार राति नै शव उत्खनन् गरेका छौं,’ उनले भने । उनको बयानका आधारमा शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएको र हरिलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

सालीलाई भित्र्याउन यसरी लगाएछन् श्रीमतीलाई सँधैका लागि साइड

हरिले पाँच वर्षअघि वीणासँग प्रेम विवाह गरेका थिए । यी दुवैको एक छोरा र एक छोरी छन् । अन्तरजातीय विवाह गरेका उनीहरुलाई परिवारले अस्वीकार गरेपछि ससुराली नजिकै घर बनाएर बसेका थिए । तर यो बीचमा हरिले वीणाकी कान्छी बहिनीसँग प्रेम शुरु गरेका थिए । वीणालाई साइड लगाएर मात्रै हरिले सालीसँग विवाह गर्न लागेका थिए ।

सालीले ‘दिदी घरमा रहेसम्म म तपाईंको श्रीमती बन्न सक्दिनँ’ भनेर आफूलाई भनिरहिन’ हरिले प्रहरीलाई बयानमा भनेका छन्, ‘मलाई साली मन पर्न थालिसकेको थियो । त्यहीं भएर उनलाई पाउन वीणाको हत्या गरें ।’

उनले हत्याअघि नै जङ्गलमा खाडल खनिसकेको र हत्यापछि त्यहि खाडलमा गाडेको पाइएको प्रहरीले जनाएको छ । सड्न थालेको अवस्थामा जङ्गलबाट शव बरामद गरेको प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुसन्धान अगाडि बढाइसकेको जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *