साझामञ्चमा पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा
Published:
by .
झापा । झापाको बिर्तामोडबाट सञ्चालनमा रहेको साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीहरु हरेकको एक लाख रुपयाँको कोरोना बीमा गरिएको छ ।
विश्वब्यापी महामारी फैलिएको कोभिड–१९ को सन्त्रासका बीचमा पनि अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको महसुस गरी सामुहिक बीमा गरिएको हो । स्थलगत रिपोर्टिङ र जनसम्पर्कमा खटिरहनु पर्दा हाम्रो प्रतिष्ठानमा कार्यरत पत्रकार तथा कर्मचारीमा संक्रमणको जोखिम रहेको महसुस गरी राज्यले अघि सारेको बीमा नीतिलाई अवलम्बन गरिएको साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले बताएका छन् ।
कोराना संक्रमण पुष्टि भएमा सरकारले नै सम्पूर्ण उपचार खर्च व्यहोर्ने ब्यवस्था छ । तर संक्रमण पुष्टि भएपछि परिवारमा उत्पन्न हुने मानसिक तनावसँगै उपचारका लागि गर्नुपर्ने पारिवारिक ओहोर दोहोर, बिरामीका लागि आवश्यक पर्ने पौष्टिक खाना तथा फलफूल एवम् वित्तीय अभाव पूरा गर्न बीमाबाट प्राप्त रकम महत्वपूर्ण हुने अपेक्षा राखिएको छ । यसैले अग्रभागमा रहेर दिनरात नभनी काम गर्ने कर्मचारी र पत्रकारहरुको सुरक्षा र जोखिमको उत्तरदायित्व सञ्चार प्रतिष्ठानको नै हुने महसुस गरी बीमा गरिएको सम्पादक काफ्ले बताउँछन् ।
आज मे ५ तारिखको मितिबाट एक वर्षसम्म साझामञ्चमा कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पिसिआर परीक्षणमा पोजिटिभ देखिए बीमा वापत प्रतिब्यक्ति एक लाख रुपैँया भुक्तानी दिइने छ । साझामञ्च मिडिया प्रालिका अध्यक्ष एकराज कार्कीले भने, ‘फ्रन्टलाइनमा रहेर काम गर्ने हाम्रा पत्रकार र कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा कोरोनाको त्रासलाई न्यूनीकरण गर्न बीमामा सहभागी गराइएको हो ।’
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट साझामञ्चमा निरन्तर काम गर्ने १० जना पत्रकार तथा कर्मचारीहरुको बीमा गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । बीमा वापतको प्रिमियम रकम साझामञ्च मिडिया प्रालिबाट भुक्तनी प्राप्त गरेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाका पुष्प आङ्बोले जानकारी दिएका छन् ।
Comments