Sajhamanch Archive

डेढ महिना पुरानै स्वरुपमा लकडाउन लम्ब्याउने सरकारको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोभिड–१९ संक्रमणबाट बच्न बचाउन सरकारले अहिलेकै स्वरुपमा वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउने अनुमान गरिएको छ । भोलि बुत्रबार बस्ने मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भई बालुवाटारमा सम्पन्न कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आजको बैठकमा जोखिमका आधारमा रातो, पहेँलो र हरियो वर्गमा जिल्ला विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

प्रधानमन्त्री उक्त प्रस्तावमा सहमत नदेखिएको र समिति समक्ष विभिन्न जिज्ञासाहरु राखेका थिए । समितिका एक सदस्यका अनुसार प्रधानमन्त्रीले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएकोले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने र नेपालमा परीक्षणको स्पिड पनि नपुगेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

अहिले नै सुरक्षित क्षेत्र घोषणा गर्न नसकिने भएकाले परीक्षण बढाउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् । समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने र भोलिको मन्त्रिपरिषद् बैठकमा छलफल गरी यस सम्बन्धी निर्णय हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जनाएका छन् ।

सचिव विडारीले कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठिक भएको निष्कर्ष निकालेको बताए । २५ गतेपछि लकडाउन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले सरकारले जे नीति अख्तियार गरेको छ, यो सही छ । यो निरन्तर रहन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *