Sajhamanch Archive

अनलाइन कक्षाको लागि निःशुल्क इन्टरनेट र सीम कार्ड दिन माग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । अनलाइन शिक्षण औपचारिक कक्षा नभएको हुनाले त्यसको नाममा अभिभावकबाट कुनै पनि शुल्क नअसुल्न सरोकारवालाले आव्हानसहित प्रतिबद्धता जनाएका छन् ।

विहीवार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले प्रतिबद्धतासहित सम्पूर्ण विद्यालयलाई त्यस्तो आव्हान गरेका हुन् । अनलाइन शिक्षणमार्फत अनौपचारिक रुपमा भए पनि व्यवहारिक ज्ञान दिन सकिने उनीहरुको तर्क थियो । साथै सबैको पहुँचमा निःशुल्क इन्टरनेट र आवश्यक सिम कार्ड उपलब्ध गराउन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।

प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेती, एनप्याब्सन झापाका सल्लाहकार संयोजक सञ्जीव राई, संघीय लिम्बुवान मञ्च नेपाल झापाका अध्यक्ष धनबहादुर पन्धाक सुब्बा, अभिभावक संघका प्रतिनिधि तथा जनप्रतिनिधि भोजराज सिटौला, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाका अध्यक्ष देशबन्धु ढुंगेल, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनालले त्यस्तो बताएका हुन् । सबैको पहुँचमा इन्टरनेट लगायतका स्रोतसाधन नहुँदा विद्यार्थीबीचमा विभेद र मानसिक समस्या उत्पन्न हुने समेत उनीहरुले चर्चा गरे ।

छलफलबाट उनीहरुले ५ बुँदे निष्कर्ष समेत निकालेका छन् । उनीहरुले आम नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्य नै मुख्य प्राथमिकता रहेको हुनाले त्यसको उचित व्यवस्थापन गर्दै शैक्षिक वातावरण बनाउन समेत उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

त्यस्तै आगामी दिनमा पाठ्यपुस्तक अभाव हुन नदिन निजी विद्यालयका छाता संस्थाहरु, पुस्तक व्यवसायीबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । साथै उनीहरुले अब समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन् । त्यस्तै पाठ्यपुस्तकको सहज वितरणका लागि शिक्षा मन्त्रालय तथा स्थानीय सरकार समक्ष माग समेत गरिएको छ । त्यस्तै हालको संकटपूर्ण अवस्थामा सबै विद्यार्थीलाई घरमै बसी अध्ययन गर्न सम्भव भएसम्म रेडियो टेलिभिजनबाट प्रशासित कक्षामा सहभागी बन्न, व्यवहारिक ज्ञान लिन र अभिभावकले समेत घरमा अनुकूल वातावरण बनाइदिन आग्रह गरिएको छ । हाल शिक्षा क्षेत्रमा उत्पन्न समस्याको उचित निकास दिँदै सरकारलाई सहयोग गर्न सरोकारवालाबीच संवाद र सहकार्यलाई निरन्तरता दिने समेत निष्कर्ष निकालिएको छ ।

भिडियो कन्फ्रेन्सको संयोजन संवाद समूह झापाले गरेको थियो । उनीहरुले कोरोना महामारी र लकडाउनले निम्त्याएका शैक्षिक समस्या तथा समाधानका उपाय बारे छलफल गरेका थिए । जसमा मासिक शुल्क, भर्ना तथा भर्ना शुल्क, अनलाइन कक्षा बारेको आम बुझाई, प्रभावकारिता र शुल्क बारेमा छलफल भएको थियो । त्यस्तै विभिन्न कक्षाको परीक्षाफल, एसईई, कक्षा ११ र १२को परीक्षा, पुस्तकको प्रबन्धमा दिएको समस्या, महामारीविरुद्धको सचेतना लगायतका विषयमा समेत छलफल गरिएको थियो । वर्तमान अवस्थामा बिद्यार्थी तथा अभिभावकलाई सकारात्मक उत्प्रेरणा जगाउनुपर्नेमा समेत जोड दिइएको थियो । अनलाइन कक्षालाई हाल औपचारिक शिक्षा हो भन्ने कतिपयको बुझाई गलत रहेकोले यसप्रति साझा बुझाइएको विकास हुनुपर्नेमा जोड दिँदै उनीहरुले भने– ‘अनलाइनबाट शुरु गरिएको शिक्षण औपचारिक होइन, स्रोतसाधन र पहुँचमा नहुने विद्यार्थी र अभिभावकहरु आत्तिनुपर्दैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *