सीमा अतिक्रमको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन, ३३ जना पक्राउ
Published:
by .काठमाडौं । भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ परेका छन् ।
आज (शनिबार) दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्त रुपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिएकी छिन् ।
प्रदर्शनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले पुष्टि गरेका छन् । भारतले लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएर उद्घाटन गरेपछि त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।
भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई देशबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।
Comments