लघुकथाः लकडाउन
Published:
by .निकै दिनदेखि यस्तै भइरहेको थियो । म अफिसबाट फर्कने क्रममा उनीसँग बसमा देखादेख हुन्थ्यो । सुरूको एक–दुई दिन त मतलबै भएन । ठसाठस भरिएको बसमा कसैलाई नियाल्नु पनि कसरी ? तर पछ्छिल्ला केही दिनबाट मैले महसुस गरेँ एक जोड़ी उत्साहित चन्चल आँखाहरुको उपस्थिति ।
उनी सधैं त्यही स्टेशन र एउटै समयमा बस चढेकोबाट मैले अनुमान लगाएँ उनी पनि बागबजार मैं कतै जब गर्छिन । दिनभरिको कामले थकित, लखतरान र बिरक्तिएर कोठा फर्कंदै गर्दा उनी भेटिन थालेकी थिइन् । मभन्दा ठीक उल्टो, उनको मुहारभरि उत्साह र आँखामा उमंग हुन्थे। म धुम्बाराहीमा ओर्लन्थेँ । बस उनीलाई लिएर अगाडि हुइँकिन्थ्यो ।
बिहान अफिस जाँदा भने आजसम्म मैले उनलाई भेटेको थिइनँ।फर्कंदा म सुरुको स्टेसनबाट बस चढ् हुनाले सधैं सिटमा बस्न पाउँथेँ । उनको भागमा भने उभिने नै पर्थ्यो । म उनलाई आफ्नो सिट दिन चाहान्थेँ तर बोल्न नसक्ने । चोरीचोरी आँखा जुदाउने मात्र । यसैबीच हामी परिचित भइसकेका थियौं आँखै आँखाले। एक अर्काको बारेमा केही थाहा नपाएर पनि आफ्नै जस्ता, परिचित जस्ता ।
एक दिन म आफू सधै बस्ने सिटमा नबसी लास्टको पनि कुनाको सिटमा बसेँ । परिचित एकजोर आँखाहरुले यताउता खोजेको प्रस्ट देखेँ । भिड केही कम हुनासाथ आँखा चार भए । त्यही चन्चलता, उस्तै निस्फिक्री । प्रष्ट थियो ती आँखाहरुलाई मेरो बानी परिसकेको थियो ।
मैले हिम्मत गरेर आफू बसेको सिट उनका लागि दिएँ । “धन्यवाद !” उनीसँगै रहेकी उनकी साथी दुई जनाको सिटमा तीन हुँदै कोच्चिएर बस्दै भनिन् । साथी बोलक्कड रैछिन्, यात्राभरि उनै बोलिरहिन् । मेरा परिचित आँखाहरु अँ, अँ, हो हो मा हल्ली रहे । बीचबीचमा पुलुक्क मतिर हेर्दै ।
भोलि चाहिँ हिम्मत गरेर बोल्ने सोच्दै कोठा पुगेँ । राति एफएम रेडियो, टिभी, अनलाइनभरि समाचारको बाढी आयो– “भोलिबाट एकसाताका लागि लकडाउन गरिएको छ।” र, उसैबेला अफिसबाट हाकिमको पनि एसएमएस आयो– “अर्कों सूचना नगरिन्जेल काममा नआउनु ।!!
Comments