Sajhamanch Archive

विराट नर्सिङ होम अनिश्चितकालका लागि सिल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । सञ्चालक र चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले विराट नर्सिङहोम अनिश्चित कालका लागि सिल गरेको छ । विराट नर्सिङ होममा कार्यरत चिकित्सक, कर्मचारी र त्यहाँ उपचारमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिने छ ।

नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परिक्षण गराएका र ती सञ्चालक चिकित्सकले नर्सिङ होमको व्यापारमा गिरावट आउने भन्दै कोरोना पोजेटिभ आफूलाई भएको लुकाएर महानगर, प्रहरी र स्वस्थ्यकर्मीलाई गुमराहमा राखेका थिए ।

उनलाई बुधबार नै कोरोना भएको पुष्टि भएको थियो । महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराट नर्सिङ होम सिल गरिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय समेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको कार्कीले बताए ।

बिहीबार सार्वजनिक सूचना टाँस गरेर अर्को सूचना नभएसम्म सिल कायम रहने कार्कीले बताए । अस्पतालबाट मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजेटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने कार्कीले बताए ।

सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ । बाहिर–भित्र आवतजावतमा रोक लगाइएको छ । अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन । अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहनेछ ।

चिकिसत्कलाई नै संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले लुकाउने काम गरेका कारण सेनीटाइज भने अस्पताल आफैले गर्नु पर्ने उनको भनाइ छ । सामान्य अवस्थामा संक्रमित भेटिएको स्थानमा महानगरले सेनीटाइज गर्ने गरेको थियो । तर विराट संक्रमितको विवरण लुकाएपछि सेनिटाइज आफै गर्नुपर्ने बताएको हो ।

‘सेनीटाइज गरेर अस्पताल सुरक्षित बनाउनु पर्यो,’ कार्कीले भने, ‘जुन दिनसम्म सुरक्षित छ भन्ने लाग्दै, त्यस अवधिसम्म सिल यथावत रहने र उपचार एवं काम कारबाहीका सबै प्रक्रिया बन्द रहने छ ।’ उनले अस्पतालबाट संक्रमण अन्यत्र नफैलिओस भन्नका लागि सुरुमै सावधानी अपनाएर सिल गरिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *